चितवन। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रियसभामा पार्टीका उपाध्यक्ष वामदेव गौतम नै मनोनीत हुने बताएका छन्। उनले आगामी ६ महिना डां युवराज खतिवडाले अर्थमन्त्रीमा निरन्तरता पाउने पनि उल्लेख गरे।
अर्थमन्त्री हुनका लागि राष्ट्रियसभामा जानैपर्छ भन्ने नभएको भन्दै प्रचण्डले छ महिनाका लागि राष्ट्रियसभामा नगएर पनि खतिवडा अर्थमन्त्री हुनसक्ने बताए।
प्रेस सङ्गठन चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले प्रधानमन्त्री केपी ओलीले गौतमलाई नै राष्ट्रिय सभामा सिफारिस गर्ने बताए।
‘प्रधानमन्त्रीले सिफारिस नगर्ने कुरा म कल्पनासम्म पनि गर्दिन उहाँले गर्नुहुन्छ । मैले त्यति बुझेको हो’ प्रधानमन्त्रीले गौतमलाई सिफारिस गर्नुभएन भने के हुन्छ भन्ने पत्रकारको प्रश्नमा प्रचण्डले भने ‘म अहिले त्यतातिर जानै चाहान्न। मलाई विश्वास छ प्रधानमन्त्रीले पार्टीको सचिवालय समितिको बैठकले सर्वसम्मत गरेको निर्णयलाई अवज्ञा गर्नुहुन्छ भनेर म कल्पना पनि गर्न सक्दिन। कसैले पनि सक्दैनन्।’
आफू र प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी ओलीको संयुक्त अध्यक्षतामा बसेको सचिवालय बैठकले सर्वसम्मतरुपमा गौतमलाई सिफारिस गर्ने निर्णय भएको दाहालको भनाइ थियो। संविधान संशोधन गरेर प्रधानमन्त्री हुने भए मात्र राष्ट्रियसभामा जाने उपाध्यक्ष गौतमको सर्त भने गएको सचिवालय बैठकबाट हटेको दाहालको भनाइ थियो। उनले संविधान संशोधन एउटा प्रक्रियामा अघि बढ्ने जानकारी दिए।रासस