काठमाडौं । सूचना र प्रविधिको तिव्र विकाससँगै यसको दुरुपयोग पनि तिव्र गतिमा बढिरहेको सरकारी तथ्यांकले देखाएको छ । प्रहरी अनुसन्धान तथा अपराध महाशाखाका अनुसार हरेक वर्ष साइबर अपराध बढ्दै गएको हो ।
विद्युतीय कारोबार ऐन–२०६३ नेपालको साइवर सम्बन्धी कानुन हो । त्यसमा साइबरमा के गर्न हुन्छ वा हुँदैन भन्ने प्रस्ट लेखिएको छ । त्यहाँ गर्न नमिल्ने उल्लेख भएका गतिविधि गरे साइबर अपराध मानिन्छ । पछिल्लो समय इन्टरनेटको व्यापक प्रयोग बढेका कारण साइबर अपराध पनि बढ्दो छ ।
फेसबुक, ट्वीटर, यूटुब, ह्वाट्स एप, भाइबर, ईस्ट्राग्राम, ईमो जस्ता सामाजिक सञ्जालमा हिंसात्मक र अश्लील समाग्री राख्ने मात्र नभइ धम्की दिने, गालीगलौज गर्ने र चरित्रहत्या गर्नेसम्मका हर्कत बढेको देखिन्छ ।
सामाजिक सञ्जालमा जोडिएका अधिकांश नेपालीहरुलाई साइवर अपराधको बारेमा राम्रो जानकारी छैन । जतिलाई थाहा छ, उनीहरु पनि अपराध भइरहेको थाहा हुँदासमेत रिपोर्ट गर्न झन्झट मान्ने गर्छन् ।
सामाजिक सञ्जालमा अपराधिक घटनाहरु बढ्दो क्रममा रहेको अपराध महाशाखाका प्रवक्ता मुकेश कुमार सिहंले बताए । साइबर अपराधले पुरुषको तुलनामा धेरै महिलालाई पिडित बनाउने गरेको उनले बताए । सिंहको भनाई अनुसार साइवर अपराध गर्ने १४ बर्षदेखि २५ बर्ष उमेरका युवाहरु बढि रहेको देखिएको छ ।
‘नेपालमा सामाजिक सञ्जालहरुलाई नियन्त्रण गर्ने नियामक निकायहरु छैनन्, यसले गर्दा देश भित्र हुने साइबर अपराध नियन्त्रण गर्न प्रहरीलाई कठिन भइरहेको छ’
चालु आर्थिक बर्षको ७ महिनाको तथ्यांक हेर्दा ७ सय ३४ साइबर अपराधका घटना दर्ता भएका छन् । त्यस मध्ये ४ सय ३४ घटनामा महिला पिडित भएका छन् भने ३ सय पुरुष पिडित भएको देखिन्छ ।
सबैभन्दा बढी साइबर अपराध फेसबुकमा ‘फेक आइडी’ बनाएर गर्ने गरिएको तथ्यांकले देखाएको छ । चालु आबको ७ महिनामा ५ सय ५५ वटा फेसबुक फेक आइडी बनाएर साइबर अपराध गरेकाहरुलाई मुद्दा चलाइएको अपराध महाशाखाले जनाएको छ । त्यस्तै १५ यूट्व अपलोड, २० ईस्ट्राग्राम, १७ इमेल ह्याक, ११ ह्वाट्स एप र १५ टुईटरबाट अपराध गरेकाले मुद्दा चलाइएको हो ।
त्यस्तै ७७ म्यासेन्जर, १० ईमो, ४ अनलाइन र १० भाईबरबाट पिडित बनेको उजुरी परेका छन् । नेपाल प्रहरीमा रहेको तथ्याङ्घ हेर्ने हो भने एक सातामा २ सय भन्दा बढी उजुरी आउने गरेका छन् । तर, यसरी उजुरी गर्ने मध्ये एकदमै सानो संख्यामा अदालतसम्म पुग्ने गरेको पाइन्छ ।
धेरै उजुरीमा अभियुक्त फेला परेपछि आफैं मेलमिलाप गर्नेहरुको संख्या बढेको छ । यसले अपराधमा संलग्न व्यक्ति पिडितको आफ्नै नजिकका साथीभाइ, आफन्त र चिनेजानेका नै हुने गरेको छ ।
विगतका तुलनामा यस्तो घटनाहरु हरेक वर्ष बढ्दै गएको देखिन्छ । अपराध महाशाखाका अनुसार गत आर्थिक बर्ष २०७३/०७४ मा १ हजार १ सय ९७ मुद्दा दर्ता भएका थिए । त्यस्तै आर्थिक बर्ष २०७४/०७५ मा १ हजार ४ सय ८२ र २०७५/०७६ मा १ हजार ९ सय ३८ मुद्दा दर्ता भएका थिए ।
‘नेपालमा सामाजिक सञ्जालहरुलाई नियन्त्रण गर्ने नियामक निकायहरु छैनन्, यसले गर्दा देश भित्र हुने साइबर अपराध नियन्त्रण गर्न प्रहरीलाई कठिन भइरहेको छ’, प्रहरी निरीक्षक तथा साइबर अपराध प्रमुख लिलाराज डाँगीले भने । यसले नेपालमा साइबर अपराध नियन्त्रणमा प्रहरीलाई कठिनाई हुँदै गएको सहजै अनुमान गर्न सकिन्छ ।