काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले राजीनामा दिएका छन्।
सेक्युरिटी प्रिन्टिङ मेसिन खरिदका लागि स्वीस एजेन्टसँग कमिशन मागेको अडियो सार्वजनिक भएपछि उनले बिहीबार राजीनामा दिएका हुन् ।
बास्कोटाले राजीनामा दिएको सभामुख अग्नि सापकोटाले प्रतिनिधिसभा बैठकमा अनौपचारिक जानकारी गराएका छन् । कांग्रेसले मन्त्री बाँस्कोटाको विषयलाई लिएर संसद अवरोध गर्ने बताएपछि सापकोटाले सो बारेमा जानकारी दिएका हुन्।
बाँस्कोटाले बुधबार ७० करोड कमिसन मागेको अडियो सार्वजनिक भएको थियो । सोही विषयलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदमा बाँस्कोटालाई बर्खास्त गर्न माग गर्दै राष्ट्रियसभा बैठक अवरुद्ध गरेको थियो ।