नयाँ बसपार्कमा यात्रुलाई दुःख दिने ३७० जना कारबाहीमा

काठमाडौं । काठमाडौंको गोँगबुस्थित नयाँ बसपार्कभित्र यात्रुलाई दुःख दिने ३७० जना कारबाहीमा परेका छन् ।

देशभरका यातायात व्यवसायीहरुको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सुरक्षित बसपार्क निर्माणका लागि आइतबार नयाँ बसपार्कमा आयोजना गरिएको कार्यक्रममा यात्रुलाई अनावश्यक दुःख दिनेलाई कारबाही गरिएको जानकारी दिएको हो ।

महासंकका अध्यक्ष विजयबहादुर स्वाँरले मुलुकको राष्ट्रिय बसपार्कलाई सुरक्षित र यात्रुमैत्री बनाउन नेपाल प्रहरी, यातायात व्यवसायी, यातायात मजदुर उत्तिकै जिम्मेवार रहेको बताए ।

महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले नयाँबसपार्कमा जथाभावी रुपमा यात्रुको झोला तान्ने तथा यात्रुलाई अनावश्यक दुःख दिने कार्य रोक्नुपर्नेमा जोड दिए ।

प्रहरी वृत्त महाराजगञ्जका प्रमुख, प्रहरी नायव उपरीक्षक निरन्जन थापाले राष्ट्रिय बसपार्कलाई सुरक्षित र मर्यादित बनाउन प्रहरीले काम गरिरहेको उल्लेख गरे ।

प्रहरी प्रभाग नयाँबसपार्कका प्रमुख, प्रहरी निरीक्षक राजन खड्काले चालू आर्थिक वर्षमा पक्राउ परेकामध्ये आठ जनालाई मुद्दा चलाइएको जानकारी दिए ।

नयाँबसपार्कबाट हाल देशभरका ७० जिल्लामा सार्वजनिक यातायात सञ्चालन हुँदै आएको छ । नयाँबसपार्क सञ्चालन गरेको लोत्से बहुउदेश्यीय प्रालिका मानव संशाधन प्रमुख पंकज मल्लले पछिल्लो समय नयाँबसपार्कभित्र कार्यरत कर्मचारीलाई पोशाक र परिचयपत्रको व्यवस्था गरिएकाले सुरक्षित यात्राका लागि कर्मचारीसँग समन्वय गर्न सबैलाई आग्रह गरे ।

दाङको साङ्ग्रिला प्लाई उद्योगमा आगलागी Read Previous

दाङको साङ्ग्रिला प्लाई उद्योगमा आगलागी

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल दिगो संचालनको कार्य योजना तयार Read Next

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल दिगो संचालनको कार्य योजना तयार