काठमाडौं । चितवन जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई धरौटीमा छाड्न आदेश दिएको छ ।
बिहीबार चितवन जिल्ला अदालतका न्यायाधीश दयाराम ढकालको इजलासले लामिछानेलाई ५४ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।
चितवनको साहारा सहकारी संस्थाको रकम हिनामिनाको आरोपमा उनी विरुद्ध जिल्ला अदालत चितवनमा ठगीको मुद्दा परेको थियो ।
रवि यसअघि कास्की, काठमाडौं र रुपन्देही जिल्ला अदालतको आदेशमा धरौटीमा छुटेका थिए । उनलाई माघ १३ गते रुपन्देही जिल्ला अदालतले १ करोड, माघ २ गते काठमाडौं जिल्ला अदालतले ६० लाख र पुस २५ गते कास्की जिल्ला अदालतले ६५ लाख रुपैयाँमा छाड्न आदेश दिएको थियो ।