काठमाडौं । गृहमन्त्री रमेश लेखकले गैरआवासीय नेपाली (एनआरएन) नागरिकताको पूर्ण कार्यान्वयन सम्बन्धी समस्या छिट्टै समाधान हुने बताएका छन्।
गैरआवासीय नेपाली संघका अध्यक्ष बद्री केसीको नेतृत्वको प्रतिनिधिमण्डलसँगको अन्तरक्रियाका क्रममा उनले यस्तो बताएका हुन् ।
गृहमन्त्री लेखकले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयनमा देखा परेका जटिलता संसद्को आगामी (हिउँदे) अधिवेशनबाटै सम्बोधन गर्ने प्रतिबद्धता जनाए ।
‘सरकारले गैरआवासीय नेपाली नागरिकताको कार्यान्वयनसहित नेपालको विद्यमान कानुनमा रहेका समस्याहरू, कानुन तथा नियमावली संशोधनका उपायहरू तथा अध्यागमन, मालपोत, कम्पनि, बैंक तथा अन्य व्यवहारिक ठाउँका समस्या तुरून्त समाधानका लागि बृहत छलफलपछि विभिन्न एक दर्जन ऐन संशोधनका लागि संसदमा प्रस्तुत गर्दछौं, यसै अधिवेशनबाट अधिकांश समस्या समाधान हुन्छ,’ उनले भने।
संघका अध्यक्ष केसीले सरकारले विदेशमा बस्ने नेपालीलाई गैरआवासीय नेपाली नागरिकता दिन थाले पनि त्यसको संविधानतः कार्यान्वयन नहुँदा नागरिकता लिइसकेका र लिने क्रममा रहेका गैरआवासीय नेपालीहरू निराश भएको बताए ।