काठमाडौं । अमेरिकी नवनिर्वाचित राष्ट्रपति डनल्ड ट्रम्पले आप्रवासीबाट अमेरिकी भूमिका जन्मेका शिशुलाई प्रदान गरिने जन्मसिद्ध नागरिकताको प्रणाली हटाउने घोषणा गरेको छन् ।
एनबीसी न्यूजलाई अन्तर्वार्ताका दिँदै ट्रम्पले अवैध आप्रवासीलाई देश निकाला गर्ने दोर्होयाउएका हुन् । उनले आफ्नो कार्यकालको पहिलो दिनमै आप्रवासीबाट अमेरिकामा जन्मेका शिशुलाई दिइने नागरिकता प्रणाली समाप्त पार्ने योजना कार्यान्वयन गरिने बताएका हुन् ।
उनले गैरकानुनी रुपमा अमेरिका ल्याइएका बालबालिका अर्थात् ‘ड्रिमर आप्रवासी’का लागि एउटा सम्झौता गर्न चोहेको बताएका छन् ।
अहिले अमेरिकामा जन्मेका जो कोहीलाई उनीहरुको आमाबाबुको अध्यागमन स्थितिको पर्वाह नगरी नागरिकता प्रदान गर्ने कानुनी व्यवस्था छ । यस विषयमा रिपब्लिकनहरु पनि खुला रहेको ट्रम्पको जिकिर छ ।
आफ्नो चार वर्षे कार्यकालमा गैरकानुनी रूपमा अमेरिकामा बसिरहेका सबै आप्रवासीलाई देश निकाला गर्ने लक्ष्य राखेको बताएका छन् ।
ट्रम्पले यसअघि पनि ह्वाइट हाउस फर्केलगत्तै अवैध आप्रवासी निकाल्न आफूले राष्ट्रिय आपतकाल घोषणा गर्ने बताएका थिए ।
अमेरिकी सरकारी निकायका अनुसार जनवरी २०२२ सम्म करिब १ करोड १० लाख आप्रवासी गैरकानुनी रुपमा प्रवेश गरेको तथ्यांक छ । यद्यपि अहिले यो संख्या बढेको बताइएको छ । यसअघि पनि ट्रम्पले सन् २०१७ देखि २०२१ सम्मको आफ्नो कार्यकालमा आप्रवासीलाई निर्वासन राहत र कार्यअनुमति प्रदान गर्ने कार्यक्रम समाप्त गर्ने प्रयास गरेका थिए । तर, सर्वोच्च अदालतले उक्त प्रयासलाई खारेज गरिदिएको थियो ।
सर्वोच्चको समर्थन रहेका कारण जन्मसिद्ध नागरिकता अन्त्य गर्ने प्रयास गर्ने ट्रम्पको योजनाले कानुनी चुनौतीको सामना गर्नुपर्ने हुन्छ । अमेरिकी आप्रवासी परिषद्ले एक दशकभन्दा बढी अवधिमा सबै आप्रवासीलाई देश निकाला गर्दा वार्षिक ८८ अर्ब अमेरिकी डलर खर्च हुने अनुमान गरेको छ ।