एनपीएलमा पोखराको कीर्तिमानी जित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) पोखरा एभेन्जर्सले लुम्बिनी लायन्स विरुद्ध कीर्तिमानी जित हात पारेको छ ।

शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा पोखराले लुम्बिनीलाई १० विकेटले हराएको हो । एनपीएलमा कुनै पनि टिमले १० विकेटको जित हात पारेको यो पहिलोपटक हो ।

पोखरालाई जिताउन आन्द्रेस गौस र दिनेश खरेलले कीर्तिमानी १७६ रनको साझेदारी गरे । यो पनि एनपीएलमा सबैभन्दा ठूलो साझेदारी हो ।

लुम्बिनीले दिएको १७१ रनको लक्ष्य पछ्याएको पोखराले १६.५ ओभरमा बिना विकेटको क्षतिमा जित निकालेको हो । पोखराका लागि गौसले ५४ बलमा नटआउट १०४ रन (१२ चौका र ५ छक्का) बनाए । गौस एनपीएल इतिहासमा शतक हान्ने पहिलो खेलाडी समेत बने ।

त्यस्तै, खरेलले पनि ४६ बल खेल्दै अविजित ६१ रन जोडे । उनले ४ चौका र ४ छक्का प्रहार गरे ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको लुम्बिनीले कप्तान रोहित पौडेलको ९५ रन मदतमा निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १७० रन बनाएको थियो । पौडलले ५९ बल खेल्दै १० चौका र ४ छक्का प्रहार गरेका थिए ।

त्यस्तै टम मुर्सले ३८ बल खेल्दै २ चौका र २ छक्का मद्दतमा ४५ रन जोडे । सन्दिप जोराले १५ बलमा २ चौका र १ छक्का प्रहार गरी १८ रन बनाए ।

पोखराका विपिन खत्रीले ३ ओभरमा १८ रन खर्चेर २ विकेट लिए । म्याट क्रिटलेले १ विकेट लिए ।

आइतबारदेखि मतदाता नामावली दर्ता र अद्यावधिक गर्न सकिने Read Previous

आइतबारदेखि मतदाता नामावली दर्ता र अद्यावधिक गर्न सकिने

युनियन मेवा हाइड्रोले ३५ करोडको आइपीओ जारी गर्ने, बिक्री प्रबन्ध नियुक्त Read Next

युनियन मेवा हाइड्रोले ३५ करोडको आइपीओ जारी गर्ने, बिक्री प्रबन्ध नियुक्त