आज अमेरिकी राष्ट्रपतिको निर्वाचन हुँदै, नतिजा आउन कति समय लाग्छ ? 

वासिङ्टन डीसी  । विश्वभर निकै प्रतिक्षा गरिएको अमेरिकाको राष्ट्रपतीय निर्वाचनको मतदात आज  (मंगलबार) हुन गइरहेको छ ।
सो निर्वाचनका लागि डेमोक्र्याटिक पार्टीका तर्फबाट वर्तमान उपराष्ट्रपति कमला ह्यारिस र रिपब्लिकन पार्टीबाट पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प मैदानमा छन् ।
निर्वाचनको मिति आउन एक दिन बाँकी रहँदा ह्यारिस र ट्रम्प दुवैको संयन्त्र ब्याटल ग्राउण्ड स्टेट (मतदान गर्न अनिर्णित मतदाता भएको राज्य) को नामकरण गरिएका स्थानमा केन्द्रित रहेको थियो ।
मतदाताहरुको प्रत्यक्ष मतदान र ‘इलोक्ट्रोल कलेज’को सम्मिश्रणका आधारमा निर्वाचित गरिने अमेरिकाको राष्ट्रपतीय निर्वाचन यो पटक निकै प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ ।
नागरिकले मतदानमार्फत प्रत्यक्ष कार्यकारी अधिकारसहितको विश्वको शक्तिशाली राष्ट्र अमेरिकाको राष्ट्रपतिको निर्वाचनमार्फत हुने सत्ताको परिवर्तनले विश्वलाई प्रत्यक्ष, अप्रत्यक्ष रुपमा प्रभाव पार्ने कतिपयको धारणा छ । आफ्नो पक्षका उमेदवारलाई विजयी गराउन दुवै पार्टीले आफ्ना सबै प्रकारका संयन्त्र परिचालन गरेका छन् ।
यो पटकको निर्वाचनमा पनि विगतका निर्वाचन जस्तै आप्रवासन, बन्दुकको अधिकार, महिलाको अधिकार, आर्थिक विषय र विश्वभर देखा परिरहेको अशान्त वातावरणलाई केन्द्रमा राखेर डेमोक्र्याट र रिपब्लिकन पार्टीले आफ्नो एजेण्डा तय गरेका छन् ।
कोभिड महामारीपश्चात् अर्थतन्त्र केही चलायमान बन्ने प्रयत्न गरेको भए पनि मूल्यवृद्धिले यहाँको हरेक तहलाई असर परेको छ । खाद्यवस्तु, इन्धनका साथै सबै खालका वस्तु तथा सेवामा परेको असरले मध्यमस्तरको आय हुनेहरुका लागि कठिन आर्थिक अवस्था सिर्जना गरेकाले यो निर्वाचनलाई महत्वका साथ हेरिएको छ ।
तुलनात्मक रुपमा आप्रवासीहरुप्रति नरम नीति अङ्गीकार गर्ने डेमोक्र्याट पार्टीले अमेरिकाको इतिहासमा पहिलो पटक महिलालाई सर्वोच्च कार्यकारी अधिकार प्रदान गर्नेगरी कमला ह्यारिसलाई मैदानमा उतारेको छ । उता अनेकन मुद्दा खेपिरहेका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प दोस्रो कार्यकालमा सत्ता आरोहणका लागि कडा मेहनत गरिरहनुभएको छ ।
स्वीङ्ग राज्यहरु निर्णायक
अमेरिकामा रहेका कूल ५० राज्यमध्ये मुख्य सात एरिजोना, जर्जिया, मिचिगन, नाभडा, नर्थ क्यारालिना, पेन्सलभेनिया र विसकन्सिनलाई स्विङ्ग (मतदाताले अन्तिम समयमा निर्णय गर्ने) राज्यका रुपमा परिभाषित गरिएको छ ।
यसमध्ये सबैभन्दा बढी ध्यान पेन्सल भेनियामा रहेको छ । यी राज्यहरुको विगतको निर्वाचनको नतिजा हेर्दा सन् २०१६ मा डोनाल्ड ट्रम्पले पाँच वटा स्वीङ्ग राज्यमा जीत हासिल गरेर निर्वाचित भएका थिए । उता सन् २०२० मा जो वाइडेनले छ वटा राज्यमा जीत हासिल गरेर राष्ट्रपति बन्न सफल भएका थिए ।
पेन्सलभेनिया कति महत्वपूर्ण छ भन्ने विषय उक्त राज्यमा रिपब्लिकन र डेमोक्र्याट पार्टीले सबै प्रकारका चुनावी अभियानमा सबै प्रकारका सञ्चारमध्यमहरुमा खर्च गरेका १ अर्ब २० करोड डलरको विज्ञापनले पनि पुष्टि गर्छ । सन् २०२४ को चुनावमा अमेरिकाभर कुल १० अर्ब ५३ करोड डलर (करिब १४ खर्ब नेपाली रुपैयाँ) विज्ञापनमा खर्च गरिएकामा त्यसमध्ये ११ प्रतिशत एउटै राज्यमा खर्च गरिएकोबाट पनि पुष्टि हुन्छ ।
कूल ९१ लाख मतदाता रहेको पेन्सलभेनियामा अर्लि भोटिङमार्फत १६ लाख २० हजारले मतदान गरिसकेका छन् । उक्त राज्यमा निर्वाचनको दिन अर्थात् आज बिहान ७ बजेदेखि मतदान सुरु हुनेछ ।
नेपालीहरुको मत निर्णायक हुन सक्छ ?
व्याटल ग्राउण्ड अर्थात् मुख्य प्रतिस्पर्धा हुने राज्यका रुपमा रहेको पेन्सलभेनियाको निर्वाचन निर्णायक हुने भनेर सारोकार भएका संयन्त्रको ध्यान केन्द्रित हुनुका साथै निर्वाचन समितिको परिचालन भइरहेको छ । सो राज्यमा करिब २५ हजार नेपाली भाषीको मतदानको अधिकार रहेकाले उनीहरु निर्णायक हुनसक्ने बताइएको छ ।
नेपाली मतदाताहरुलाई निर्वाचनसम्बन्धी जनचेतनाका लागि पेन्सलभेनियाको हयारिसवर्गमा आइपुगेका अमेरिकी राजनीतिज्ञ डा ह्यारी भण्डारीले यो स्थान निर्वाचन निर्यायक बनाउन सक्ने भएकाले निकै महत्वपूर्ण रहेको बताए । शनिबार मात्रै उनको अगुवाइमा मेरिल्याण्डबाट ५१ जना स्वयंसेवक परिचालन गरी भोट माग्न जुटेका भण्डारी हरेक मतको मूल्य हुने बताए ।
भण्डारीले भने, ‘हामीहरुले यहाँ बसेर जसरी यहाँको राजनीतिमा योगदान दिइरहेका छौँ, यो भावी पिँढीका लागि झन् बढी प्रेरक बन्नेछ । एक आप्रवासीका रुपमा जसरी दोस्रो पुस्तामा कमला ह्यारिसले एउटा गर्विलो इतिहास कोर्ने जर्मको गरिरहनुभएको छ, यसले धेरै आप्रवासीलाई प्रेरणा दिने विश्वास लिएका छौँ ।’
‘राजनीति भनेको पद र प्रतिष्ठामात्र होइन यसले मानिसका जीवनमा आइपर्ने अनेकन समस्यालाई जुध्न एउटा अभिभावकका रुपमा, व्यवसाय गर्नेहरुका लागि रोजगारीको अवसर सिर्जना गर्ने वातावरण बनाउने र धेरै नीति गत परिवर्तनमार्फत आन्तरिक र बाह्य रुपमा एक सशक्त उपस्थिति जनाउने काम गर्छ । त्यसैले यस्तो विषयलाई सम्बोधन गर्नसक्ने सशक्त उम्मेदवार डेमोक्र्याट पार्टीकी ह्यारिस हुन सक्नुहुन्छ भन्ने मेरो विश्वास छ, भण्डारीले भने।
पेन्सलभेनियालाई मुख्य मतदान केन्द्रका रुपमा मानिएको छ । यो व्याटल ग्राउण्ड स्टेट हो र यसमा सन् २०१६ र २०२० को मतदानको विश्लेषण गर्दा झिनो अन्तरले विजयी भएको देखिन्छ । त्यसैले नेपाली अमेरिकनहरुको मतले एउटा निर्णायक भूमिका निर्वाह गर्नसक्ने उनले धारणा राखे ।
नेपालीहरु पनि दुवै पक्षधर
आप्रवासीहरुप्रति नरम नीति लिने डेमोक्र्याट पार्टीका पक्षमा धेरै नेपालीहरु देखिएको भए पनि रिपब्लिकन अर्थात् ट्रम्प समर्थक पनि भेटिन्छन् । नेपाली अमेरिकनहरुले भने आफ्नो सामाजिक सञ्जालमा प्रशस्त टिप्पणी र पोष्टहरु राखेका छन् ।
ब्याटल ग्राउण्ड स्टेटको विश्लेषण 
अमेरिकाको राजनीतिलाई अत्यधिक प्रभाव पार्ने राज्यका रुपमा अहिले पेन्सलभेनिया रहेको छ । उक्त राज्यमा ६७ वटा क्षेत्र (काउन्टी)मध्ये केही काउन्टीका मतदाता दुवै पक्षमा रहेका पाइएको छ । समर्थकहरुले मतदानमा निर्णय भूमिका निर्वाह गर्ने चुनावी अभियानमा सहभागी स्वयंसेवकको भनाइ छ ।
चुनावी र्‍यालीको अन्तिम
अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा चुनावी र्‍यालीको अन्तिम तयारीस्वरुप स्थानीय समयअनुसार सोमबार अपराह्न पेन्सलभेनियाको फिलाडेल्फिया म्युजियम अफ आर्ट अगाडि आयोजना हुने र्‍यालीलाई उपराष्ट्रपति ह्यारिसले सम्बोधन गगरेकी छिन् भने रिपब्लिकन उम्मेदवार ट्रम्पले पनि सोमबार साँझ पेन्सलभेनियामा आफ्ना समर्थकहरुलाई सम्बोधन गरेका छन् ।
अमेरिकाको यसपटकको निर्वाचनले २४८ वर्षको इतिहासमा महिला राष्ट्रपतिको इतिहास निर्माण गर्नेछ वा पूर्वराष्ट्रपति ट्रम्पको दोस्रोपटक ह्वाइट हाउसको यात्रालाई निरन्तरता दिनेछ भन्ने विषयको निक्र्यौल आज हुने निर्वाचनले गर्नेछ । कूल २३ करोड १० लाख मतदानका लागि योग्य भए पनि १६ करोड ८० लाखले मात्र मतदानका लागि दर्ता (रजिस्टर्ड) गरेका तथ्याङ्क छ । यसैगरी कूल इलेक्ट्रोल कलेजको ५३८ मध्ये २७० भोट ल्याउनेले निर्वाचनमा जीत हासिल गर्न सक्नेछन् ।
कहिले आउँछ नतिजा ?
सामान्यतयाः विजेता को भयो भन्ने कुरा प्रायः निर्वाचन सकिएको राति नै वा भोलिपल्ट बिहानै मतदाताहरूले थाहा पाउने गरेका छन्।उदाहरणका लागि, सन् २०१६ मा मतदान सकिएको भोलिपल्ट बिहान सबेरै (ईएसटी ३ बजे, जीएमटी ८ बजे) ट्रम्प विजेता घोषित भएका थिए। सन् २०१२ मा बराक ओबामा दोस्रो पटक निर्वाचित हुँदा मतदान सकिएको राति नै उनी विजयी हुने अनुमान गरिसकिएको थियो।
तर सन् २००० मा जोर्ज डब्ल्यू बुश र एल गोर उम्मेदवार बनेको निर्वाचनको परिणाम आउन निकै समय लाग्यो।सामान्यतया निर्वाचनको दिन दिइएको मत रुजु गरिन्छ। त्यसपछि क्रमशः पहिल्यै र हुलाकमार्फत् पठाइएको मत, दाबी विरोध भएको मत अनि विदेशमा र सैन्य सेवामा भएका मानिसले दिएको मतको पालो आउँछ।
स्थानीय निर्वाचन अधिकृतहरूले प्रत्येक मतलाई प्रमाणीकरण गर्दै गणना गर्छन्। उक्त प्रक्रियालाई ुक्यान्भासिङु भनिन्छ। त्यस्ता अधिकृतहरू कहिलेकाहीँ नियुक्त र कहिलेकाहीँ निर्वाचित भएका हुन्छन्।
अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च Read Previous

अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च

दुई कम्पनीको हकप्रद पाउन सेयर किन्ने आज अन्तिम दिन Read Next

दुई कम्पनीको हकप्रद पाउन सेयर किन्ने आज अन्तिम दिन