काठमाडौं । संसदीय सुनुवाइ समितिबाट प्रस्तावित १६ राजदूतको नाम अनुमोदन भएको छ । बिहीबार सिंहदरबारमा बसेको समिति बैठकले सरकारले सिफारिस गरेका १७ मध्ये १६ देशका लागि नेपाली राजदूतको नाम बहुमतले अनुमोदन गरेको हो ।
शैक्षिक योग्यताको प्रमाणपत्रमा प्रश्न उठेपछि श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईको नाम भने अनुमोदन भएन । उनले स्नातक तह पास गरेको कागजात समितिमा पेश गरेको नदेखिएकोले निर्णय प्रक्रिया रोकिएको समितिले जनाएको छ।
सरकारले भारतका लागि शंकर शर्मा, चीनका लागि कृष्णप्रसाद ओली, इजरायलका लागि धनप्रसाद पण्डित, पोर्चुगलका लागि प्रकाशमणि पौडेल, पाकिस्तानका लागि रिता धिताल, जर्मनीका लागि शैल रूपाखेती, कतारका लागि रमेशचन्द्र पौडेल, दक्षिण अफ्रिकाका लागि कपिलमान श्रेष्ठ, साउदी अरबका लागि नरेशविक्रम ढकाल, श्रीलंकाका लागि रामकृष्ण भट्टराई, स्पेनका लागि सनिल नेपाल राजदूत प्रस्ताव गरेको थियो ।
त्यस्तै, बेलायतका लागि चन्द्र घिमिरे, डेनमार्कका लागि सुम्निमा तुलाधर, अमेरिकाका लागि लोकदर्शन रेग्मी, दक्षिण कोरियाका लागि शिवमाया तुम्बाहाङ्फे, मलेसियाका लागि नेत्रप्रसाद तिमल्सिना र रूसका लागि जंगव चौहानलाई राजदूतमा सिफारिस गरिएको थियो ।
राजदूतको नाम अनुमोदन गर्दा विभिन्न दलका समिति सदस्यहरूको फरकफरक मत आएपछि सर्वसम्मत भने हुने सकेन ।
बैठकमा रास्वपा सांसद डोलप्रसाद अर्यालले इजरायलका लागि प्रस्तावित राजदूत धनप्रसाद पण्डित, दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूत कपिलमान श्रेष्ठ र मलेसियाका लागि प्रस्तावित राजदूत नेत्रप्रसाद तिम्सिनाका विषयमा र जसपा नेपालका सांसद प्रकाश अधिकारीले भारतका लागि प्रस्तावित राजदूत शंकर शर्माका साथै पण्डित, श्रेष्ठ र तिम्सिनामाथि फरक मत राखेको थिए ।