मोदीलाई जनताको लगाम : भाजपाले गुमायो बहुमत, एक्लैले सरकार बनाउन नसक्ने

काठमाडौं । १० वर्षदेखि सत्तामा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनताले लगाम लगाएका छन् । धर्मलाई मूल राजनीति बनाएको मोदीको भारतीय जनता पार्टी (भाजपा)ले भारतको लोकसभा चुनावमा बहुमत गुमाएको हो ।

यसअघिका लगातार दुई चुनावमा स्पष्ट बहुमत ल्याएको भाजपाले एकल बहुमत ल्याउन नसकेको हो । यद्यपि, मोदी नेतृत्वको विद्यमान एनडीए गठबन्धनले सरकार बनाउन आवश्यक २७२ सिट कटाएको छ । यो गठबन्धनले ५४३ लोकसभामा २९२ सिट जितेको भारतीय निर्वाचन आयोगले जनाएको छ ।

भाजपा नेतृत्वको एनडीएले जितेको सिट अघिल्लो चुनावको भन्दा ५७ सिट कम हो । अघिल्लो निर्वाचनमा एनडीएले ३५२ सिट जित्दा भाजपा एक्लैले ३०३ सिट ल्याएको थियो । यसपालि भाजपाले २४० सिट मात्रै ल्याएको छ।

चुनावी नतिजा अनुसार यसपाली विपक्षी इन्डिया गठबन्धनले उल्लेख्य सफलता हात पारेको छ । इन्डिया गठबन्धनले २३१ सिट सिट जितेको छ। १७ सिट अरू दलहरूले जितेका छन्।

इन्डिया गठबन्धनले यसपालि १३७ सिट बढाएको छ। अघिल्लो चुनावमा उसले ९४ सिट ल्याएको थियो । यसपालि कंग्रेस एक्लैले ९९ सिट ल्याएको छ। अघिल्लो चुनावमा उसले ५२ सिटमात्रै ल्याएको थियो।

यस्तै, क्षेत्रीय दलहरू समाजवादी पार्टीले ३७, अल इन्डिया तृणमूल कंग्रेसले २९, डीएमकेले २२, टीडीपीले १६, जेडीयूले १२, शिव सेनाले ७, लोक जनकशक्ति पार्टी, आरजेडी र सीपीआईएले ४/४ सिट, आम आदमी पार्टीले ३, झारखण्ड मुक्ति मोर्चाले ३ सिट जितेका छन् भने बाँकी सिटमा अन्य दल र स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

मोदीको नारा र एक्जिट पोल हावादारी सावित

मोदीले यसपाली आफ्नो शक्ति आर्जनका लागि हिन्दूत्वको आडमा धार्मिक राजनीति गरेका थिए । तेस्रो पटक अत्यधिक बहुमत ल्याउन ‘अबका बार, चार सय पार’ नारासहित चुनावी मैदानमा होमिएका मोदीलाई जनताले भने रुचाएनन् । राज्य सत्ताको दुरुपयोग गर्दै विपक्षी दलमाथि आक्रमक बनेका मोदीको उन्मादलाई जनताले लगाम लगाइदिएका छन् ।

चुनावअघि प्रधानमन्त्री नरेन्द्र मोदीले ४००सिट जितेर पुन सरकार चलाउने दाबी गरेका थिए। विभिन्न एक्जिट पोलहरूले पनि मोदी नेतृत्वको गठबन्धनले ४०० हाराहारीमा सिट ल्याउने दाबी गरेका थिए । तर, चुनावी परिणामले भने मोदीको महत्वकांक्षा र एक्जिट पोल गर्ने सबै संस्थाहरूलाई माथ खुवाइदिएको छ । उनीहरूको सबै अनुमान हावादारी सावित गरिदिएको छ ।

मोदीको धर्मको राजनीतिलाई जनताले ब्रेक लगाइदिएका छन् भने अल्पसंख्यक माथि गरेको ज्यादतीको हिसाब किताब गरेका छन् ।भाजपाको गढ समेत मानिने सबैभन्दा धेरै ८० सिट भएको उत्तर प्रदेशमा उसले ठूलो धक्का खायो । अर्कातिर रामको मन्दिर बनाएर हिन्दूत्वको राजनीति गरेको भाजपाले अयोध्याय क्षेत्र पनि अपेक्षित मत पाएन ।

भाजपाका लागि चुनावी मतपरिणाम अनपेक्षित मात्र होइन, निराशाजनक रह्यो । शक्तिको आडमा चामत्कारिक छवि बनाएका मोदीका लागि यो निकै लज्जास्पद परिघटना पनि हो ।

भाजपा एक्लैले सरकार बनाउन नसक्ने

२०१४ देखि एकल बहुमतको सरकार चलाएको मोदीले यसपालि गठबन्धनमा रहेका दलहरूलाई लिएर सरकार बनाउनुपर्नेछ। क्षेत्रीय दलहरुको साथ बिना भाजपाले सरकार बनाउन सक्ने छैन ।

५४३ सदस्यीय लोकसभामा सरकार बनाउन २७२ सिट आवश्यक पर्दछ । भाजपाको आफ्नो २४० सांसद छन् । अब उसलाई ३२ सांसदको साथ चाहिन्छ । अहिलेको एनडीए गठबन्धन कायमै रहे मोदी तेस्रोकालका लागि प्रधानमन्त्री बन्न कठिन छैन । तर, गठबन्धन फुटेमा सरकार बनाउन कै लागि भाजपाले चलखेल गर्नुपर्ने स्थिति आउने छ ।

विपक्षी इन्डिया गठबन्धनले यसपालि सरकार बनाउन पहल गर्ने कि विपक्षमै बस्ने भन्ने निर्णय गर्न आज बैठक बस्दैछ। यदि विपक्षी गठबन्धनले पनि सरकारमा जाने चाहना राखेमा सबैभन्दा ठूलो दल भाजपालाई सकस पर्ने देखिन्छ ।

१ वर्ष बसोबास गरेका गैर-नागरिकले अष्ट्रेलियाको सेनामा भर्ती हुन पाउने Read Previous

१ वर्ष बसोबास गरेका गैर-नागरिकले अष्ट्रेलियाको सेनामा भर्ती हुन पाउने

कुहिएर खेर जाने केराको थामबाट फाइबर, धागो र कम्पोष्ट मल Read Next

कुहिएर खेर जाने केराको थामबाट फाइबर, धागो र कम्पोष्ट मल