काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा राजकीय भ्रमणका लागि कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी काठमाडौं आइपुगेका छन् ।
उनी आफ्नो निजी विमानमार्फत दिउँसो ३:३५ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेका हुन् । उनलाई स्वागत गर्न राष्ट्रपति पौडेल विमानस्थल पुगेका थिए ।
त्यस्तै, स्वागतका लागि उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे र उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ लगायत विमानस्थल पुगेका थिए ।
विमानस्थलको अति विशिष्ट कक्षमा कतारका अमिरलाई २१ तोपको सलामी दिएर सम्मान गरिने कार्यक्रम रहेको छ ।
कतारका राजाले नेपाल भ्रमण गरेको यो पहिलो पटक हो । उनी बुधबार फर्किनेछन् ।