काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गरेका छन् । साेमबार काँग्रेससँगको गठबन्धन तोड्दै एमालेसँग नयाँ गठबन्धन बनाएका प्रधानमन्त्रीले बुधबार नयाँ मन्त्रिमण्डल विस्तार गरेका हुन् ।
सोमबार ३ मन्त्री नियुक्त गरेका प्रचण्डले आज थप १६ मन्त्री नियुक्त गरेका हुन् । प्रधानमन्त्रीले नयाँ मन्त्रीमण्डलमा नेकपा एमालेका तर्फबाट ८ जना, माओवादीबाट आफूसहित ६ जना, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट ४ जना र एकीकृत समाजवादीबाट २ जना मन्त्री समावेश गरेका छन्।
नव नियुक्त मन्त्रीहरूले आजै राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएका छन् ।
माओवादीबाट नारायणकाजी श्रेष्ठ उपप्रधान तथा परराष्ट्र, वर्षमान पुन अर्थ, शक्ति बस्नेत ऊर्जा, जलस्रोत तथा सिंचाइ, रेखा शर्मा सञ्चार तथा सूचना प्रविधि र हितबहादुर तामाङ संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनेका छन् ।
सरकारमा नेकपा एमालेको नेतृत्व गर्ने रघुवीर महासेठ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछन् ।
त्यस्तै, पदम गिरी कानुन, न्याय तथा संसदीय मामिला, हरि उप्रेती रक्षा, भगवती चौधरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राजेन्द्र राई खानेपानी, दामोदर भण्डारी उद्योग, वाणिज्य तथा आपूर्ति, ज्वालाकुमारी साहले कृषि तथा पशुपक्षी र बलराम अधिकारीले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बनेका छन् ।
त्यसैगरी, रास्वपाबाट पार्टी सभापति रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री बनेका छन् । त्यस्तै, डोलप्रसाद अर्याल श्रम तथा रोजगार, सुमना श्रेष्ठ शिक्षा विज्ञान तथा प्रविधि र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुदमन्त्री बनेका छन् ।
त्यस्तै, समाजवादीबाट भानुभक्त जोशी संघीय मामिला तथा समान्य प्रशासन र धनबहादुर बुढा सहरी विकासमन्त्री बनेका छन् ।