धम्की दिई ५० लाख माग्ने दुई पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले डर, त्रास तथा धम्की दिई रु ५० लाख रकम माग गर्ने दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा कैलाली टीकापुर नगरपालिका–१ बस्ने ३६ बर्षीय हृदयराज बोगटी उपनाम विश्वजित बटला तथा नुवाकोट ककनी नगरपालिका–३ बस्ने ३६ बर्षीय नरहरि ढुङगाना उपनाम रमेश रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए।

उनले भने, ‘केही व्यक्तिले योजनाबद्ध तरिकाले पीडितलाई पटक–पटक फोनमार्फत तथा प्रत्यक्ष भेट गरी डर, धम्की तथा त्रास देखाई रु ५० लाख माग गरेको भन्ने गोप्य सूचनाका आधारमा हाम्रो कार्यालयबाट खटिएको विशेष अनुसन्धान टोलीले चन्द्रगिरि नगरपालिका–९ मच्छेगाउँबाट उनीहरुलाई पक्राउ गरेको हो ।’

पक्राउ परेकाहरुलाई आपराधिक लाभ मुद्दामा थप अनुसन्धान तथा कारबाहीका लागि मङ्गलबार जिल्ला प्रहरी परिसर, काठमाडौँ पठाइएको र निजहरुका साथबाट प्रहरीले मोटरसाइकल (सु.प.प्र.–०१००९ प ६६१० एक थान, विभिन्न कम्पनीका मोबाइलहरु चार थान तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी)को सहयोग रसिद एक ठेली बरामद गरेको प्रवक्ता तथा प्रहरी उपरीक्षक रेग्मीले बताए ।

बेसिजनमा पनि मुस्ताङका स्याउ बजारमा, चिस्यान केन्द्रमा राख्दा मूल्य दोब्बर Read Previous

बेसिजनमा पनि मुस्ताङका स्याउ बजारमा, चिस्यान केन्द्रमा राख्दा मूल्य दोब्बर

लघुवित्त र सहकारीका समस्या चाँडै समाधान हुन्छन् : प्रधानमन्त्री दाहाल Read Next

लघुवित्त र सहकारीका समस्या चाँडै समाधान हुन्छन् : प्रधानमन्त्री दाहाल