काठमाडौं । काठमाडौंको दशरथ रङ्गशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले आज औपचारिक घोषणा गरेपछि १३ औं दक्षिण एशियाली खेलकुद (साग) शुरु हुनेछ ।
सात देशका खेलाडी, पदाधिकारी र प्राविधिक झन्डै ५ हजार खेलकर्मी सहभागी हुने साग नेपालले आयोजना गरेको हालसम्मको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिता हो ।
सन् १९८४ मा पहिलो र सन् १९९९ मा आठौँ साग आयोजन गरिसकेको नेपालले तेस्रोपटक यो क्षेत्रीय खेलकुदको आयोजना गर्न लागेको हो ।

२६ खेल, २ हजार ७१५ खेलाडी
पहिलो संस्करणमा पाँच खेल समावेश गरिएको दशरथ रङ्गशालाबाट सुरु भएको प्रतियोगिता फेरि रङ्गशालामा फर्किदा खेल संख्या २६ पुगेको छ भने पोखरा र जनकपुरसम्म प्रतियोगिता विस्तार भएको छ ।
१३ औँ साग प्राविधिक समितिका अनुसार सात राष्ट्रका कूल २,७१५ खेलाडीहरू यसपटक सहभागी छन् ।दुई हजारभन्दा बढी निर्णायकहरू संलग्न हुने खेलकुदका लागि सातै राष्ट्रका पदाधिकारीहरू नेपालमा आइसकेका छन् ।

प्रतियोगितामा ३१७ स्वर्ण, ३१७ रजत र ४८१ काश्य गरी १,११५ पदकका लागि प्रतिस्पर्धा हुनेछ ।आयोजक नेपालले सबैभन्दा बढी ५९६ खेलाडीका साथ सबै खेलमा सहभागिता जनाएको छ ।
प्रतिस्पर्धाका निम्ति काठमाडौं उपत्यका, पोखरा र जनकपुरमा गरी २९ खेलस्थल बनाइएको छ । जसमा २०७२ सालको भूकम्पपछि भत्किएको काठमाडौं र पोखराको रङ्गशाला पुनर्निर्माण गरिएको छ ।
ललितपुरको सातदोबाटोमा २५ मिटरको नयाँ वातानुकूलीत पौडी पोखरी बनाइएको र अन्य खेलस्थलहरू मर्मत गरिएको १३औँ साग खेलस्थल व्यवस्थापन समितिले जनाएको छ ।
यो प्रतियोगिता सम्पन्न गर्न ५ अर्ब रुपैयाँभन्दा बढी खर्च हुने आयोजकले जनाएको छ ।