नेपाल VS भारत : अन्तर्राष्ट्रिय यात्राकाे २७ वर्षपछि जुरेको ऐतिहासिक क्षण 

काठमाडौं । भारतसँग क्रिकेट खेल्न पाउनु नै नेपालका लागि एउटा सपना जस्तै थियो । भारत छिमेकी राष्ट्र भए तापनि उसँग खेल्न नेपालले आफ्नो अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमा झन्डै ३ दशक कुनुपर्यो ।  अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको २७ वर्षपछि आज नेपालको भारतसँग क्रिकेट खेल्ने सपना पूरा हुँदै छ ।

सन् १९९६ बाट अन्तर्राष्ट्रिय क्रिकेट खेल्न सुरु गरेको नेपालले पहिलोपटक भारतसँग खेल्ने मौका पाएको हो । नेपाल र भारत पहिलोपटक सिनियर टोलीमा आमने–सामने हुन लागेका हुन् । श्रीलङ्कामा जारी एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलोपटक आज भारतसँग प्रतिस्पर्धा गर्दैछ ।

विश्व वरियताको शीर्ष तीनमा रहेको भारत र १५ औं वरियताको नेपाल श्रीलङ्काको पालेकेले इन्टरनेशल क्रिकेट रङ्गशालामा नेपाली समय अनुसार दिउँसो ३ः१५ बजे आमने सामने हुँदै छन् ।

नेपाली टोलीका कप्तान रोहित पौडेल र भारती टोलीका कप्तान रोहित शर्माबीच दिउँसो २ः४५ बजे टस हुनेछ । जुन नेपाल र नेपालीको लागि महत्वपूर्ण ऐतिहासिक क्षण बन्नेछ । नेपाल र भारतबीचको खेलको हरेक क्षण नेपालका लागि महत्वपूर्ण रहनेछ ।

जबकि विश्व क्रिकेटमा भारतले आफ्नो प्रभाव जमाउन थालेकै ४ दशक भइसक्यो । यस अवधिमा भारतले टी-ट्वान्टी, ओडीआई सबै फरम्याटको विश्वकप जितिसकेको छ । त्यस्तै, टेस्ट क्रिकेटमा पनि आफ्नो दबदबा देखाइरहेको छ ।

युवा टोलिले हात पारेको त्यो ऐतिहासिक सफलता

छिमेकी मुलुक भए पनि नेपाल र भारत सिनियर टोलि पहिलो पटक खेल्न लागेको हुन् । तर, जुनियर टिम भने यसअघि पटक पटक एक आपसमा भिडिसकेका छन् । उमेर समूहका अधिकांश खेलमा भारतले नेपाललाई पराजित गरे पनि ६ वर्ष अघि भने नेपालले भारतलाई पराजित गर्दै इतिहास रचेको थियो ।

नेपालले सन् २०१७ मा भने भारतको यू–१९ टोलीसँग खेलेको थियो । मलेसियामा भएको यू १९ एसिया कप क्रिकेटमा नेपालले भारतलाई १९ रनले पराजित गर्दै ऐतिहासिक नतिजा हात पारेको थियो । नेपालकाेआज सिनियर टोलीमा पहिलोपटक भारतसँग खेल्दै नयाँ इतिहास कायम गर्नेछ ।

जितेमा सुपर फोरमा !

एसिया कपमा पहिलोपटक सहभागिता जनाएको नेपालले भारतलाई पराजित गर्दै सुपर फोरमा पुग्न चाहन्छ तर विश्व क्रिकेटको पावर हाउस भारतलाई पराजित गर्न नेपाललाई सहज भने हुनेछैन । एसिया कपको यस खेलले समूह ए को सुपर फोरमा पुग्ने दोस्रो टोलीको टुङ्गो लाग्नेछ । समूह ए बाट पाकिस्तान यसअघि नै सुपर फोरमा पुगिसकेको छ ।

समूह ए मा रहेका नेपाल र भारतले समान एक एक खेल छन् । जसमा नेपाल पाकिस्तानसँग पराजित भएको थियो भने भारतले पाकिस्तानसँग अङ्क बाँडेको थियो । वर्षाका कारण भारत र पाकिस्तानबीचको खेल रद्द भएपछि दुवै टोलीले समान एक एक अङ्क बाँडेका हुन् ।

समूह ए मा पाकिस्तान शीर्ष स्थानमा छ । त्यस्तै भारत दोस्रो स्थानमा रहँदा नेपाल तेस्रो स्थानमा छ । पाकिस्तान २ खेलमा १ मा जित र १ मा अङ्क बाँड्दै ३ अङ्कका साथ सुपर फोरमा पुगिसकेको हो । भारतको एक खेलमा एक अङ्क छ । एक खेल खेलेको नेपाल अङ्कविहीन छ । नेपाल पहिलो खेलमा पाकिस्तानसँग २३८ रनले फराकिलो अन्तरले पराजित भएको थियो ।

समूह चरणको अन्तिम भारतविरुको खेलमा नेपाल विजयी भएमा एसिया कपको सुपर फोरमा पुग्नेछ । अन्यथा नेपाल प्रतियोगिताबाट बाहिरिनेछ ।

नेपाली टिम

नेपाली टोलीमा कप्तान रोहितकुमार पौडेलसहित आशिफ शेख, कुशल भुर्तेल, सन्दीप लामिछाने ललितनारायण राजवंशी, भीम सार्की, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, करण केसी, गुल्सन झा, आरिफ शेख, सोमपाल कामी, अर्जुन साउद, प्रतिश जिसी, किशोर महतो, सन्दीप जोरा र श्याम ढकाल रहेका छन् ।

औषधि पसललाई कानूनी दायरामा ल्याउँदै काठमाडौं महानगर Read Previous

औषधि पसललाई कानूनी दायरामा ल्याउँदै काठमाडौं महानगर

भगवती हाइड्रोपावरको आइपीओ बाँडफाँट, यहाँबाट सजिलै हेर्नुहोस् नतिजा Read Next

भगवती हाइड्रोपावरको आइपीओ बाँडफाँट, यहाँबाट सजिलै हेर्नुहोस् नतिजा