२ डोजर अलपत्र छोडेर तेस्रो खरिद गर्न ५५ लाख बजेट

काठमाडौं । बझाङको बुंगल नगरपालिकाले दुई डोजर अलपत्र छोडेर तेस्रो खरिद गर्न बजेट विनियोजन गरेको छ । नगरपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ मा जेसीबी खरिद गर्न भन्दै ५५ लाख रुपैयाँ बजेट छुट्याएको हो ।

नगरपालिकासँग डोजरै नभएर तेस्रो खरिद गर्न लागेको भने होइन । एक करोड रुपैयाँ बढीमा खरिद गरेको स्काभेटर र एउटा जेसीबी हाल अलपत्र अवस्थामा छ । अघिल्लो नगरसरकारले खरिद गरेका यि डोजरहरु पूर्णरुपमा प्रयोगमा भने ल्याइएको छैन ।

कहिले काँही बाटो अवरुद्ध हुँदा समेत नगरले आफ्नो स्काभेटर र जेसीबी चलाउने गरेको छैन । अर्कोतिर यी डोजरले गरेको आम्दानीको हिसाब किताब नै नगरपालिकासँग छैन ।

नगरले वर्षेनि इन्धन खर्च र अपरेटरलाई तलब समेत बजेट मार्फत खुवाउने गरेको छ । तर, ती मेसिनले गरेको आम्दानीको हिसाब किताब भने छैन । कमिसन खानकै लागि मुख्य जनप्रतिनिधिले करोडौं रुपैयाँ हालेर किनेका दुई डोजर अलपत्र छोडेर तेस्रो खरिदका लागि बजेट विनियोजन गरेको एक कार्यपालिका सदस्यले बताए ।

‘नगरपालिकाले तेस्रो डोजर खरिद गर्न किन पैसा हाल्यो भन्ने विषय स्पष्टै छ नि । अहिले करोड बढी लगानी गरेका दुई मेसिन बेवारिसे अवस्थामा छन्,’ उनले भने, ‘तिनले खर्चमात्रै गर्दा रहेछन् । अचम्म लाग्यो । डिजेल हाल्न पनि बजेट छुट्याउनु पर्ने, अपरेटरको तलब पनि नगरले नै दिनुपर्ने । तर, तिनले आम्दानी केही नगर्ने ? अनि तेस्रो किन्नु  किन पर्यो’

विशेषगरी मेयर र उपमेयरले यसको जवाफ दिनुपर्ने उनले बताए । जनताले तिरेको कर बहुमतको बलमा जहाँ पायो, त्यहीँ खन्याउनु र कार्यकर्ता पाल्नकै लागि कमिसन खाएर योजना हाल्ने प्रवृत्ति डरलाग्दोगरि फस्टाएको उनले बताए ।

आन्तरिक आय कमजोर भएको नगरपालिकाले फजुल खर्च भने विकास खर्चको चारगुणा बढी गर्छ । स्थानीय सरकार बनेको साढे ६ वर्षसम्म जनप्रतिनिधि काम गर्नभन्दा कमिसन र भ्रष्टाचारकै चक्करमा लाग्दा विकासका कामहरु केही अघि बढ्न सकेका छैनन् ।

५० लाख रुपैयाँ बढी वर्षको इन्धनमा खर्च गर्ने नगरपालिकाले अहिलेसम्म न आफ्नै कार्यालय बनाएको छ न अस्पतालमा सामान्य उपचार नै पाउने व्यवस्था गरेको छ । भ्रष्टाचारले आजित भएका स्थानीयहरु अहिले विभिन्न माध्यमबाट खबरदारी गरिरहेका छन् । तर, जनप्रतिनिधि भने यी तमाम समस्याका अघि मूकदर्शक बनिरहेका छन् ।

अब बागलुङबाट पनि चारपाङ्ग्रे सवारीसाधनको ट्रायल  दिन पाइने Read Previous

अब बागलुङबाट पनि चारपाङ्ग्रे सवारीसाधनको ट्रायल दिन पाइने

ग्लोबल आइएमई र बीओके क्यापिटलको एकीकृत कारोबार सुरू Read Next

ग्लोबल आइएमई र बीओके क्यापिटलको एकीकृत कारोबार सुरू