काठमाडौं । पानी, सहकाल र दीर्घजीवनको कामना गर्दै आजदेखि सेतो मत्स्येन्द्रनाथको रथयात्रा (रथजात्रा) सुरु भएको छ ।
पाँच दिनसम्म चल्ने यो रथयात्रा हरेक वर्ष चैत शुक्ल अष्टमीको दिनदेखि सुरु हुन्छ । बुधबार दिउँसो चार बजे मच्छिन्द्रबहालदेखि तीनधारा पाठशालासम्म र साँझ पाँचदेखि साढे ६ सम्म जमल, रत्नपार्क, भोटाहिटी हुँदै असनसम्म रथ तानेर जात्रा सुरु गरिनेछ । मच्छिन्द्रनाथको राष्ट्रपतिले पनि दर्शन गर्ने प्रचलन समेत छ ।
सो रथमा चैते दशैंका दिन सेतो मच्छिन्द्रनाथको मूलदेवता विराजमान गराएपछि जात्रा सुरु हुने परम्परा छ । केल टोलको मच्छिन्द्र बहालको मन्दिरमा रहेको लोकेश्वरको मूर्तिलाई केल टोल, इन्द्रचोक, बाङ्गेमुढा, असन कमलाक्षी हुँदै जमलको तीनधारा पाठशालामा ल्याइ रथमा विराजमान गराइन्छ ।
चैत १६ गते असन, केलटोल, इन्द्रचोक, मखन हुँदै हनुमानढोका परिसर पुर्याइन्छ । त्यस्तै, चैत १७ गते सो रथलाई हनुमानढोका दरबार परिसर, मरु टोल, चिकँमुगल, जैसीदेवल ज्याबहाल हुँदै लगन चोक पुर्याइन्छ । मच्छिन्द्रनाथको रथ लगन पुगेपछि यसको स्वागत गरी भोज खाने चलन छ ।
चैत १८ गते साँझ ५ः३० देखि ६ः३० बजेसम्म लगन आमा रुख परिक्रमा गराइनेछ भने चैत १९ गते साँझ ५ः३० देखि ७ः३० बजेसम्म लगन, ज्याबहाल, द्यः लं,यूतुननी, कोहिति भीमसेन थान, मरु, यतखा, नरदेवी, किलागल, भेडासिङ, केलटोल हुँदै मच्छिन्द्रबहालसम्म हुनेछ ।
रथयात्रा हुने दिन सो रुटमा सवारीसाधन प्रवेश निषेध हुने काठमाडौं महानगरपालिकाले जनाएको छ ।