काठमाडौं । नेपालको तेस्रो राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित भएका छन् ।
आज संघीय संसद भवन नयाँ बानेश्वरमा भएको निर्वाचनमा प्रतिस्पर्धी नेकपा एमालेका सुवाचन्द्र नेम्वाङ पराजीत गर्दै पौडेल राष्ट्रपतिमा विजयी भएका हुन् ।
पौडेलले कुल ३३ हजार ८०२ मतभार पाएर निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी नेम्वाङले १५ हजार ५१८ मत भार पाए । पौडेललाई २१४ संघीय सांसद र ३५२ प्रदेश सांसदले मत दिएका थिए भने नेम्वाङले ९६ संघीय सांसद र १६२ प्रदेश सांसदको मत पाए ।
पौडेललाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चाका सांसदले मत दिए ।
मतदानमा ३१३ सङ्घीय सांसद र ५१८ प्रदेशसभा सदस्यले मतदान गरेका थिए । मतदानमा राष्ट्रिय प्रजातन्त्र पार्टीका १४ र नेपाल मजदुर किसान पार्टीका एक गरी १५ सङ्घीय सांसद तटस्थ रहे ।
राष्ट्रपतिको निर्वाचन सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) र प्रदेशसभाका सदस्य मतदाताले मतदान गर्छन् । सङ्घीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ हुन्छ ।
संविधानमा नेपालमा एक राष्ट्रपति रहने र राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवद्र्धन गर्ने उल्लेख छ । संविधानको पालना र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ ।
नेपालमा विसं २०६२/६३ को आन्दोलनको उपलब्धिका रुपमा मुलुकमा गणतन्त्र स्थापना भएसँगै राष्ट्रपति प्रणालीको अभ्यास सुरु भएको हो । राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्ष हुने र दुई पटक राष्ट्रपति निर्वाचित भइसकेको व्यक्ति निर्वाचनमा पुनः उम्मेदवार हुन नसक्ने संविधानमा उल्लेख छ ।
यस्तो छ जिवनी
पौडेलको जन्म आमा ऋषिमाया र बुवा दुर्गाप्रसाद पौडेलबाट विसं २००१ असोज २९ गते तनहुँको साविक मिर्लुङ बाहुनपोखरामा भएको हो । उनका श्रीमती सविता पौडेल र चार छोरी (शर्मिला, संज्ञा, अनुज्ञा, अवज्ञा), एक छोरा ९चिन्तन० हुन् ।
मध्यमवर्गीय किसान परिवारमा जन्मिएका पौडेलको स्थायी बसोबास व्यास–८ बेलथुम्की तनहुँ हो भने हालको ठेगाना काठमाडौँ–१६ बोहोराटार बालाजु हो । उनीले शास्त्री (संस्कृत साहित्य, २०२४), स्नातकोत्तर (नेपाली साहित्य २०२७) शिक्षा लिएका ।
विसं २०१६ मा पोखरामा हिमालयन छात्र सङ्घ स्थापना गरेका पौडेल पोखरा विन्ध्यवासिनी पाठशालामा अध्ययन गर्दैगर्दा विसं २०१७ जेठ–असारमा नेपाल संस्कृत छात्र सङ्घको काठमाडौँ अधिवेशनमा प्रतिनिधि भएका थिए । विसं २०१७ पुस १ गते जननिर्वाचित संसद् भङ्ग गरी प्रधानमन्त्री बिपी कोइरालालगायत नेतालाई जेलमा राखिएको विरोध गर्दै उनी प्रजातान्त्रिक आन्दोलनमा सहभागी भएका हुन् ।

नन्दीरात्रि माविबाट एसएलसी परीक्षा उत्तीर्ण गरेका उनीले नन्दीरात्रि मावि विद्यार्थी सङ्घको संस्थापक अध्यक्ष, रानीपोखरी मावि विद्यार्थी सङ्घको अध्यक्ष, जुद्धोदय हाइस्कुलमा विभिन्न २२ विद्यालयका विद्यार्थीको भेला गराई स्वतन्त्र विद्यार्थी युनियनको माग गर्दै त्यससम्बन्धी आन्दोलनको नेतृत्व गरेका थिए ।
उनी विसं २०१९ मा नेपाल संस्कृत विद्यार्थी सङ्घको सचिवको हैसियतमा २०१९–२०२० सालमा उपत्यका आन्दोलनमा र २०२०–२०२१ सालमा राष्ट्रव्यापी स्वतन्त्र विद्यार्थी आन्दोलनमा उनी गिरफ्तार भएका थिए ।
कांग्रेस तनहुँको सदस्य ९२०३४० र जिल्ला उपसभापति ९२०३६०को जिम्मेवारी सम्हालेका नेता पौडेल जनमत सङ्ग्रहको सिलसिलामा बहुदलीय व्यवस्थाको प्रचार–प्रसार गर्न गठित कांग्रेस तनहुँ समितिको संयोजक २०३७, कांगे्रस केन्द्रीय सदस्य तथा प्रचार विभाग प्रमुख २०४० र विसं २०४३ मा कांगेस केन्द्रीय सदस्य भएका थिए ।
कांगेस केन्द्रीय महामन्त्री ९२०६२–२०६४०, कांगेस केन्द्रीय उपसभापति ९२०६४–२०७२०, कांग्रेस संसदीय दलको नेता ९२०६४–२०७०० भएका पौडेल २०७२ सालमा कांगे्रसको केन्द्रीय कार्यवाहक सभापति भएका थिए ।
भरतपुर कब्जा गर्ने कांग्रेसको सशस्त्र सङ्घर्षमा संलग्न भएको आरोपमा विसं २०१८ मा काठमाडौँबाट गिरफ्तार भई पहिलोपटक करिब एक महिना हिरासत सजाय भोग्नुभएका पौडेल विद्यार्थी आन्दोलनका क्रममा गिरफ्तार हुनुका साथै त्यसपछिका विभिन्न राजनीतिक आन्दोलनका क्रममा राजनीतिक जीवनमा २०१८ देखि २०६२ सम्म १४ वर्षभन्दा बढी जेल जीवन व्यतित गरेका थिए ।
उनी २०४८ सालमा तनहुँ क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए भने त्यसपछि तनहुँ क्षेत्र नं २ बाट २०५१, २०५६, २०६४, २०७० मा लगातार प्रतिनिधिसभा निर्वाचन र संविधानसभा निर्वाचनमा निर्वाचित भएका थिए । गत मङ्सिर ४ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा उनी तनहुँ क्षेत्र नं १ बाट निर्वाचित भएका हुन् ।
निर्वाचनपछि पहिलोपटक २०४८ सालमा स्थानीय विकासमन्त्री, विसं २०४९ मा कृषिमन्त्री भएका उनी २०५१ पुस २ गते प्रतिनिधिसभाको सभामुख निर्वाचित भएका थिए । पौडेल २०५६ साल र त्यसपछि उपप्रधान तथा सूचना/सञ्चार मन्त्री, स्थानीय विकासमन्त्री, उपप्रधान तथा गृहमन्त्री हुनुका साथै शान्ति समितिको संयोजक ९२०६१–२०६२०, शान्ति तथा पुनःनिर्माणमन्त्री ९२०६३–२०६४०, कांग्रेस संसदीय दलको नेता तथा संसद्मा प्रमुख प्रतिपक्षी दलको नेता ९२०६४–२०७०० को जिम्मेवारी सम्हालेका थिए ।
पौडेलले मानवअधिकारसम्बन्धी विभिन्न पुरस्कार, महेन्द्रविक्रम शाह पुरस्कार (महेन्द्रविक्रम शाह नेपाल प्रजातन्त्र कांग्रेसका संस्थापक हुन्), जापान सरकारले प्रदान गरेको राजकीय सम्मान ‘अर्डर अफ द राइजिङ सन’को सम्मान– सन् २०२०० लगायत सम्मान तथा पुरस्कार प्राप्त गरिसकेका छन् ।
उनका नेपाली कांग्रेसको सङ्क्षिप्त इतिहास, प्रजातान्त्रिक समाजवाद एक अध्ययन २०४७, नेपाली कांग्रेस र नेपालको आधुनिकीकरण, नेपाली कांग्रेस के भन्छ ?, आस्थाको यात्रा (राजनीतिक विश्लेषण) २०५५, नेपाली कांग्रेस अबको बाटो प्रजातान्त्रिक समाजवाद २०७५, कृषिक्रान्ति र समाजवाद, राजनीतिको राजमार्ग २०७९, नेपाली कांग्रेस रूपान्तरणको मार्गचित्र, नयाँ सन्दर्भमा समाजवाद, अभिशप्त इतिहास (माघ १९ को काण्डपछि)लगायत दर्जनौँ पुस्तक तथा विभिन्न विषयमा पत्रपत्रिका तथा अनलाइनमा समसामयिक लेख रचना प्रकाशित छन् ।
विसं २०२५ मा बिपी कोइराला सुन्दरीजल जेलबाट रिहा भएपछि तत्कालीन विद्यार्थी नेता रामचन्द्र पौडेललाई भेट्न सेन्ट्रल जेल जानु भई अविचलित नहुन आग्रह गर्दै प्रजातान्त्रिक आन्दोलनको नेतृत्व गर्न प्रेरणा दिएका थिए । त्यहाँ बिपीसँग पौडेलको पहिलो भेट भएको थियो । त्यसबेला बिपीले पौडेलसँगै जेलमा रहेका कम्युनिष्ट नेताहरू मनमोहन अधिकारी, शम्भुराम श्रेष्ठ र कमल कोइरालालाई पनि भेटेका थिए ।
राजनीतिक जीवनमा विसं २०१८ देखि २०६२ सम्म १४ वर्षभन्दा बढी जेल जीवन व्यतित गरेका उनी समाजवादी चिन्तक र प्रयोगकर्ता तथा स्वच्छ छवि, सादा जीवन, उच्च विचारका प्रयोगधर्मी हुनुका साथै स्पष्ट वक्ता र प्रजातान्त्रिक समाजवादका व्याख्याताको विशेष पहिचान बनाएका छन् ।
कांगे्रसभित्र समन्वयकारी, मध्यमार्गी नेताका रूपमा परिचित उनीले पार्टीका तत्कालीन सभापति बिपी कोइराला, पार्टीका सर्वमान्य नेता गणेशमान सिंह, पार्टीका संस्थापक कृष्णप्रसाद भट्टराई र पछि सभापति गिरिजाप्रसाद कोइराला र सिंह तथा भट्टराईबीचको विवाद तथा मनमुटाव मिलाउन सधैं मध्यमार्गी र समन्वयकारी भूमिका निर्वाह गरेका थिए ।
यसैगरी सशस्त्र द्वन्द्वरत तत्कालीन माओवादीलाई मूलप्रवाहको राजनीतिमा ल्याउने ऐतिहासिक वार्ता र सहमतिका काममा अग्रणी भूमिका निर्वाह गरेका उनी विस्तृत शान्ति सम्झौताका मस्यौदाकार तथा सहमति र सहकार्यका पक्षपातीसमेत हुन् ।
पौडेलले नेपालका सबै जिल्ला तथा भारत, चीन, संयुक्त राज्य अमेरिका, जर्मनी, संयुक्त अधिराज्य, स्पेन, बेल्जियम, इटली, फ्रान्स, रोमानिया, नेदरल्याण्डस्, स्वीजरल्याण्ड, पोर्चुगल, टर्की, रसिया, इजिप्ट, इजरायल, माल्दिभ्स, दक्षिण कोरिया, जापान, थाइल्याण्ड, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्कालगायत देशको भ्रमण गरेका छन् ।