काठमाडौं । आइतबार सम्पन्न प्रदेश र प्रतिनिधि सभा निर्वाचनको मतगणना सुरु भएको छ । कुनै निर्वाचन क्षेत्रको मतपेटीका सदरमुकाम ल्याइदै छ भने मुख्य र सहरी निर्वाचन क्षेत्रहरुमा गणना सुरु भइसकेको निर्वाचन आयोगले जनाएको छ ।
आयोगका अनुसार तीन निर्वाचन क्षेत्र रहेको चितवन जिल्लाका सबै क्षेत्रमा आज बिहानबाट मत गणनाको तयारी गरिएको छ । आइतबार राति अबेरसम्म मतपेटिका ल्याउन र बुझ्न समय लागेपछि आज बिहान सर्वदलीय बैठक राखिएको छ ।
मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाका अनुसार सर्वदलीय बैठकपछि मत गणना गरिर्दै छ । क्षेत्र नम्बर १ र २ ले बिहान ८ वजेका लागि सर्बदलिय बैठक बोलाएका छन् । क्षेत्र नम्बर ३ ले बिहान ९ वजे सर्बदलिय बैठक बोलाएको छ । बैठक पछि लगत्तै गणनाको तयारी गरिएको छ ।
जिल्लाको क्षेत्र नं १ मा ६८।७३ प्रतिशत मत खसेको छ । सो क्षेत्रमा १ लाख ३९ हजार ८४५ मतदाता रहेका छन् । क्षेत्र नम्बर २ मा ६७।३ प्रतिशत मत खसेको छ । यस क्षेत्रमा एक लाख २४ हजार २१४ मतदाता रहेका छन् ।
क्षेत्र नम्बर ३ मा ६५/४१ प्रतिशत मात्रै मत खसेको यहाँका निर्वाचन अधिकृत हरिसिं धामीले जानकारी दिनुभयो । यस क्षेत्रमा एक लाख ४४ हजार २८३ मतदाता छन् । जिल्लाभर चार लाख आठ हजार ३४२ मतदाता रहेका छन् । उनीहरु मध्ये महिला २ लाख ९ हजार ३०९ र पुरुष एक लाख ९९ हजार ३२ जना रहेका छन् । १ सय ६१ मतदान स्थलमा ४ सय ६० मतदान केन्द्र रहेका थिए । कैलालीमा आज बिहान १० बजेपछि मतगणना सुरु गर्न लागिएको छ ।
सर्वदलीय/सर्वपक्षीय बैठक बसेपछि निर्वाचनको मतगणना सुरु हुने तयारी गरिएको सम्बन्धित क्षेत्रका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । आइतबार अबेर रातिसम्म मतदान केन्द्रका मटपेटिका मतगणनास्थलसम्ममा पु¥याएर निर्वाचन अधिकृतको कार्यालयलाई बुझाउने काम भएको थियो ।
निर्वाचन क्षेत्र १ को टीकापुर, क्षेत्र २ को लम्की, क्षेत्र ३ को सुख्खड, क्षेत्र ४ को अत्तरिया र क्षेत्र नं को धनगढीमा मतगणना गर्ने तयारी छ । प्रतिनिधिसभाका पाँच र प्रदेशसभाका दश निर्वाचन क्षेत्र रहेको कैलालीमा पाँच लाख ३५ हजार पाँच सय १४ मतदाता रहेकोमा झण्डै ६२ प्रतिशत मत खसेको जनाइएको छ ।
कास्की क्षेत्र नं १ मा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि आइतबार सम्पन्न निर्वाचनको आज विहान ११ बजेबाट मतगणना गर्ने तयारी गरिएको छ । यसका लागि बिहान ९ बजे बैठक बोलाइएको र ११ बजेसम्ममा मतगणना थालिसक्ने तयारी भएको कास्की निर्वाचन क्षेत्र नं १ निर्वाचन कार्यालयका सूचना अधिकारी दीपक गिरीले जानकारी दिए।
यसअघि जिल्लामा मतगणनालाई व्यवस्थित बनाउन एवं निर्वाचन आयोगको निर्देशन समेतलाई दृष्टिगत गरी मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृतसहितको सर्वदलीय बैठक बस्न लागिएको जनाइएको छ ।
क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यका लागि गठबन्धनका तर्फबाट किशोरदत्त बराल, एमालेका तर्फबाट मनबहादुर गुरुङ, हाम्रो नेपाली पार्टीका तर्फबाट प्रमोद आचार्यलगायतको उम्मेदवारी छ ।
प्रदेशसभा (१) मा गठबन्धनका दीपक कोइराला, एमालेका खगराज अधिकारी, हाम्रो नेपाली पार्टीका मदन केसीलगायतको उम्मेदवारी छ भने (२) मा गठबन्धनका दीपक गुरुङ(माइला), एमालेका वेदबहादुर गुरुङ लगायतको उम्मेदवारी छ ।
भक्तपुर क्षेत्र नं २ मा कांग्रेसको अग्रता
भक्तपुर क्षेत्र नं २ को मतगणनामा नेपाली कांग्रेसले अग्रता लिएको छ । मध्यपुरथिमि नगरपालिका बोडेस्थित कृषि विकास बैंकको तालिक केन्द्रमा जाँदा सुरु भएको मतगणनामा अहिलेसम्म प्रतिनिधिसभातर्फ कांग्रेसले नेकपा ९एमाले०का उम्मेदवारलाई पछाडि पार्दै अग्रता लिएको हो ।
गठबन्धनका उम्मेदवार कांग्रेसका जिल्ला सभापति दुर्लभ थापाले एमालेका उम्मेदवार महेश बस्नेतलाई छ सय मतान्तरले अग्रता लिएका छन् । मध्यपुरथिमि नगरपालिका–३ कौशलटार, सूर्यविनायक नगरपालिका–१ सिरुटार र सूर्यविनायक नगरपालिका–५ कटुन्जे तीनवटा मतदान केन्द्रका मतगणनामा कांग्रेसले दुई हजार तीन सय ३० मतले अग्रता लिएको छ ।
एमाले एक हजार छ सय ३२ मत ल्याउँदा राष्ट्रियता प्रजातन्त्र पार्टीले दुई सय ३२, राष्ट्रिय स्वतन्त्र पार्टीले चार सय २४ र नेपाल मजदुर किसान पार्टीले दुई सय ५० मत प्राप्त गरेको छ । मतगणना जारी रहेको छ ।
निर्वाचनमा भक्तपुरमा कूल एक लाख ९४ हजार चार सय ३९ मतदाता रहेकोमा एक लाख ३९ हजार नौ सय ३८ मत खसेको अर्थात् ७१ दशमलव ९७ मत खसेको जिल्ला निर्वाचन कार्यालय भक्तपुरका प्रमुख नरेन्द्रप्रसाद न्यौपानेले जानकारी दिए।
यसमा क्षेत्र नं १ मा एक लाख दुई हजार पाँच सय २८ मतदाता रहेकोमा ७४ हजार १९ मत अर्थात् ७१ दशमलव १९ प्रतिशत मत खसेको र क्षेत्र नं २ मा ९१ हजार नौ सय ११ मतदाता रहेकोमा ६५ हजार नौ सय १९ मत अर्थात् ७१ दशमलव ७२ प्रतिशत मत खसेको उनले जानकारी दिए।
त्यसैगरि क्षेत्र नं १ मा आज बिहान ८ बजेदेखि मतगणना सुरु गरिने भएको छ । भक्तपुर क्षेत्र नं १ को मतगणना चाँगुनारायण नगरपालिका, खरीपाटीस्थित नेपाल विद्युत् प्राधिकरणमा तयारी भइरहेको प्रमुख न्यौपानेले जानकारी दिए। आज बिहान ८ बजेलाई आह्वान गरेको सर्वदलीय बैठकपछि मतगणना सुरु हुने बताइएको छ ।
झापा क्षेत्र नं ३ र ५ को मतगणना आरम्भ हुँदै
झापाको एक स्थानमा मतगणना सुरु भएको छ भने चार स्थानमा तयारी पूरा भएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख निर्वाचन अधिकृत तुलसी नेपालले जानकारी दिए। उनका अनुसार झापा क्षेत्र नं २ को गणना बिहान ३ः३० बजेदेखि सुरु भएको छ भने क्षेत्र नं ३ र ५ को मतगणना बिहान ८ शुरु हुनेछ । त्यस्तै, क्षेत्र नं १ र ४ को मतगणनाका लागि सर्वदलीय बैठक बस्न लागेको प्रमुख निर्वाचन अधिकृत नेपालले जानकारी दिए।
जिल्लामा ६७ दशमलव २७ मत खसेको जिल्ला निर्वाचन कार्यालयको प्रारम्भिक अनुमान छ । कार्यालयका अनुसार जिल्लाको कूल मतदाता सङ्ख्या छ लाख ६३ हजार तीन सय ११ मध्ये चार लाख ४६ हजार दुई सय ५५ मत खसेको छ ।
निर्वाचन क्षेत्र नं १ मा ८७ हजार तीन सय ९६, क्षेत्र नं २ मा ८७ हजार सात सय २३, क्षेत्र नं ३ मा ८९ हजार छ सय ३७, क्षेत्र नं ४ मा ७९ हजार तीन सय ४९ र क्षेत्र नं ५ मा एक लाख दुई हजार एक सय ५० मत खसेको सो कार्यालयले जनाएको छ ।
काठमाडौँका १० वटै क्षेत्रमा बिहानदेखि मतगणना
काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा आज बिहानैदेखि मतगणना सुरु गर्ने तयारी गरिएको छ । काठमाडौँका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाका अनुसार सर्वदलीय सहमतिका आधारमा बिहानदेखि मतगणना थालिनेछ ।
काठमाडौँ निर्वाचन क्षेत्र नं १ को मतगणना बिहान ८ बजेदेखि सुरु गर्ने तयारी गरिएको उनले जानकारी दिए । काठमाडौँ क्षेत्र नं १ को मतगणना अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वर, क्षेत्र नं २ को कागेश्वरी मनोहरा नगरपालिकाको थलीस्थित राधाकृष्ण मन्दिर, क्षेत्र नं ३ को गोकर्णेश्वर नगरपालिकाको जोरपाटीस्थित चामुण्डा मावि, क्षेत्र नं ४ को बूढानीलकण्ठ नगरपालिकाको चपलीस्थित ज्येष्ठ नागरिक भवन र क्षेत्र नं ५ को टोखा नगरपालिकाको श्रीसमाज भवनमा हुनेछ ।
निर्वाचन क्षेत्र नं ६ को तारकेश्वर नगरपालिकास्थित धर्मस्थली, क्षेत्र नं ७ को बालाजुस्थित जुडो हल, क्षेत्र नं ८ को स्वयम्भूस्थित गीतामाता विद्यालय, क्षेत्र नं ९ को रविभवनस्थित न्याथम कलेज र काठमाडौँ क्षेत्र नं १० को कीर्तिपुरस्थित त्रिवि स्मृति भवनमा मतगणना गरिनेछ ।
यद्यपि, काठमाडौँ निर्वाचन क्षेत्र नं ७ को मत गणना सुरु गरिसकिएको छ । निर्वाचन अधिकृत उषा श्रेष्ठले चार स्थानमा मतगणना सुरु गरिएको जानकारी दिए । प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष तथा समानुपातिकको मतगणना एकसाथ अगाडि बढाइएको छ ।
यस्तै ललितपुर निर्वाचन क्षेत्र नं २ र ३ को पनि मतगणना आज बिहान २ बजदेखि सुरु भइसकेको छ । ललितपुर क्षेत्र नं २ को सातदोबाटोस्थित राष्ट्रिय खेदकूद परिषद् परिसर र क्षेत्र नं ३ को जावलाखेलस्थित स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा मतगणना जारी छ ।
ललितपुर निर्वाचन क्षेत्र नं ३ को मतगणना सुरु भएको छ । निर्वाचन अधिकृतको कार्यालय रहेको जावलाखेलस्थित स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा मतगणना थालनी गरिएको हो ।
ललितपुर महानगरपालिका वडा नं २०, २१ र २२ को प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतगणना सुरु गरिएको निर्वाचन अधिकृत धर्मराज पौडेलले जानकारी दिनुभयो । मतगणनालाई तीव्र बनाउन चार स्थानमा गणना गर्ने तयारी गरिएको छ । अहिले एक ठाउँबाट मात्र गणना शुरु गरिएको छ ।
सो क्षेत्रमा गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का पम्फा भुसाल, एमालेका अमृत खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीको डा तोसिमा कार्कीलगायत प्रतिस्पर्धामा छन्।
ललितपुर निर्वाचन क्षेत्र नं २ को मतगणना भर्रखरै सुरु भएको छ । ललितपुरको सादोबाटोस्थित राष्ट्रिय खेलकूद परिषद्को परिसरमा रहेको मतगणनास्थलमा मतगणना थालिएको छ ।
निर्वाचन अधिकृत दीपशिखा मुनाकर्मीका अनुसार एउटै हलमा चार वटा गणनास्थल बनाएर मतगणना सुरु गरिएको हो । सर्वदलीय सहमतिपछि बिहान ४ बजेदेखि मतगणना थालिएको उनले जानकारी दिए ।
आइतबार भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा ललितपुर क्षेत्र नं २ मा ५० हजार ३४ मत खसेको थियो । सो क्षेत्रको प्रतिनिधिसभामा एमालेका उम्मेदवार प्रेमबहादुर महर्जन र गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार कृष्णलाल महर्जन चुनावी प्रतिस्पर्धामा छन ।