काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका अवैध संरचनामा डोजर चलाउने अभियान व्यापक बनाएको छ । पछिल्लो एक साता यता महानगरको पार्किङ व्यवस्थापन र अवैध संरचना भत्काउन मेयर बालेन शाह आफै एक्सनमा उत्रिएर छन् ।
नयाँ बानेश्वरको एक व्यापारीक कम्प्लेक्समा डोजर लगाएर अवैध संरचना हटाउन सुरु गरेको महानगरले अहिले सबैतिर सो अभियानलाई तिव्रता दिएको छ । महानगरको सूचना पालना नगर्ने सरकारी कार्यालय होस् वा निजी व्यापारीक संरचनाहरु बालेनको निसानामा छन् ।
लामो अवधिदेखि अवैध संरचना खडा गरेर व्यापार गरिरहेकाहरुको लागि महानगर चुनौती बनेर आएको छ । एकथरी नक्सा पास गरेर अर्को प्रयोजन गरिरहेका कयौं त्यस्ता संरचनाहरु छन् जसले उपत्यकाको ट्राफिक जाम र फूट पाथलाई अस्तव्यस्त बनाउनमा टेवा पुर्याइरहेका छन् । महानगरको मपदण्ड अनुसार सहरको मुख्य क्षेत्रमा संरचना बनाउँदा अन्डरग्राउन्ड पार्किङको व्यवस्था अनिवार्य छ ।
जसअनुसार संरचना बनाउनको लागि नक्सा पास गर्दा कर छुटको व्यवस्था छ । सोही कारण महानगरको मुख्य क्षेत्रमा अन्डरग्राउन्ड पार्किङ प्रयोजनका लागि भनेर कर छुट सहितको नक्सा पास गरिन्छ । तर, उक्त ठाउँमा डान्सबार, रेष्टूरेन्ट,पसल संञ्चालन गरेर सडकका छेउछाउमा पार्किङ क्षेत्र बनाइदै आइएको छ ।
मापदण्ड विपरित प्रयोग गरेका संरचना भत्काउदा मेयर बालेनले चिया पसलदेखि सामाजिक संञ्जालभरी सकारात्मक चर्चा पाएका छन् । त्यसोत, काठमाडौं महानगरको मेयरमा इन्ट्री भएको उनलाई करिब ४ महिना भएको छ । यस अवधिमा निकै चुनौती बनेको फोहोर व्यवस्थापनमा उनले समय खर्चिए ।
मुलुकको मुख्य प्रशासनिक केन्द्र तथा ठूलो महानगर भित्रको अस्तव्यस्थता सामान्य जस्तै बनेको छ । साँच्चै भन्नुपर्दा सुन्दर सहर कस्तो हुन्छ भन्ने मानिसको मानसपटलबाट हराइसकेको थियो ।

यहाँको ट्राफिक व्यवस्थापन, फोहोर, सडक र आफूखुसी निमार्ण गरिएका संरचनाहरु मूलत सैन्दर्य सहरका बाधक हुन् । जसले नागरिकहरुको आवतजावतमा मात्र समस्या ल्याएको छैन्,समग्र देशको कमजोर पूर्वाधार संरचना र जवाफदेहीताको प्रतिबिम्ब देखाएको छ ।
महानगरभित्रका अवैध संरचना र सार्वजनिक सम्पत्ति दोहनको विषय बेलाबेलामा नउठेको भने होइन् । तर, राजनीतिक पहूँचको आडमा कानुनमाथि रजाइँ गरेर कूरुप सामाजिक संरचना झल्काइरहेकाहरु गैरजिम्मेवार र बेप्रवाह बनिरहे भने कानुनको पालक निकाय निकम्मा र लाचार भए ।
महानगर विकासको रोडम्याप कोर्ने वचनवद्धता सहित चुुनावी मैदानमा उत्रिएर स्वतन्त्रबाट मेयर बनेका शाह सहर सहरजस्तो बनाउन सक्रिय भएर लागिरहेका छन् ।
बेथितिका पोषक राजनीतिक दल
मेयर बालेन शाहले गैरकानुनी संरचना भत्काउन थालेसँगै पूर्वप्रधानमन्त्री र मन्त्रीहरुले समर्थन गरेका छन् । एकदशक अघि विभिन्न संरचनाहरु भत्काएर फराइकिलो सडक बनाउन सफल बाबुराम भट्टराईले आफू बालेनको पक्षमा रहेको बताएका छन् ।
यसैगरी, गत महिना सहरी विकास मन्त्रीबाट राजीनामा दिएकी रामकुमारी झाँक्रिले पनि सोही कुरा दोहोर्याएकी छन् । झाँक्रीले आफू मन्त्री हुँदा अवैध संरचना भत्काउन खोजेको तर दलीय दबाबका कारण नसकिएको बताएकी छिन् ।
यसबाट के प्रष्ट हुन्छ भने अवैध संरचनाहरुको पोषक राजनीतिक दल हुन् जसले सामाजिक संरचना र सार्वजनिक सम्पत्ति मात्र होइन् मुलुकको कानुन र विकास लत्याइरहेका छन् ।
जसलाई तोड्ने दूश्साहस बालेन शाहले गरेका छन् । कानुनको पालना गर्नभन्दा शक्ति केन्द्र रिझाएर जेपनि गर्न सकिन्छ भन्ने पहूँचवालाको मान्यता छ । जसको कारण जुन कानुनको नजरमा गलत हो त्यो सही र जुन सही हो त्यो सामान्य जस्तै बनाइने समाजमा तथ्य स्थापित भएको छ ।
यस्तो सामाजिक संरचना र गैरजिम्मेवारीलाई बालेनले तोड्ने प्रयास गरेका छन् । कयौं सडकका करिडोरहरु एउटा घरको अवैध संरचना भत्काउन नसक्दा रोकिएका छन् ।
कयौं कम्प्लेक्सहरुले कानुन मिचेर अवैध संरचनाहरु खडा गरेका छन्, केबल तिनिहरुको संरक्षणकर्ता भनेकै राजनीतिक दल हुन् । जसले बेथिति र कानुनी राज्यको उपहास गरिरहेका छन् । सामाजिक संरचना र व्यवस्थालाई सोही मार्गमा डोर्याइ रहेका छन् ।