चुनावी तालमेल गरेर अघि बढ्ने सत्ता गठबन्धनको निर्णय, सिट बाँडफाँट गर्न कार्यदल

काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनले आगामी प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा चुनावी तालमेल गर्ने निर्णय गरेको छ । नेपाल सरकारले बिहीबारमात्रै प्रतिनिधि र प्रदेशसभाको निर्वाचन आगामी मङ्सिर ४ गते गर्ने निर्णय गरेको थियो ।

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षमा आज गठबन्धनका शीर्ष नेताहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटरमा बसेको थियो । बैठकले आगामी निर्वाचनमा पाँच दलीय गठबन्धनबीच चुनावी तालमेल गरी अगाडि बढ्ने निर्णय गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

कांग्रेस सभापति देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले हस्ताक्षर गरी बैठकका निर्णय सार्वजनिक गरेका छन् ।

सिट बाँडफाँटका लागि कार्यदल

गठबन्धन गरेर चुनाव जाने भएसँगै ५ दलले सिट बाँडफाँटका लागि गृहकार्य गर्न कार्यदल बनाएका छन् । कार्यदलमा कांग्रेसबाट नेता कृष्णप्रसाद सिटौला, महामन्त्री गगनकुमार थापा र ज्ञानेन्द्रबहादुर कार्की छन् ।

त्यस्तै, माओवादी केन्द्रबाट देवप्रसाद गुरुङ र वर्षमान पुन, एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट रामसहाय यादव, रकम चेम्जोङ र राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य रहेका छन् ।

भदौ पहिलो साता भित्रै सिटबाँडफाँटको समेत टुंगो लगाउने बताइएको छ ।

पूर्वाधर निर्माणमा प्राधिकरणको फड्को, एकै पटक सञ्चालनमा आए ३ ठूला सबस्टेशन Read Previous

पूर्वाधर निर्माणमा प्राधिकरणको फड्को, एकै पटक सञ्चालनमा आए ३ ठूला सबस्टेशन

ठमेलभित्रको अव्यवस्थित तार हटाइने, ७ सदस्यीय समिति गठन Read Next

ठमेलभित्रको अव्यवस्थित तार हटाइने, ७ सदस्यीय समिति गठन