विश्वको सबैभन्दा ठूलो तेल उत्पादक साउदी अरबको सरकारी स्वामित्वमा रहेका प्रमुख दुईवटा तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण भएपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ह्वात्तै बढेको छ । साथै विश्वभर साउदीबाट हुने तेल आपूर्तिमा समेत ५ प्रतिशतले घटेको छ ।
शनिबार हुथी विद्रोहीले साउदी अरबका अब्काइक र कुरिस प्रशोधन केन्द्रमा ड्रोन आक्रमणका कारण आगलागी भएको थियो । अब्काइक संसारकै सबैभन्दा ठूलो तेल प्रशोधन केन्द्र हो ।
साउदी अरबका ऊर्जामन्त्री राजकुमार अब्दुल अजिज बिन सलमानका अनुसार हुथी विद्रोहीहरुले गरेको आक्रमणका कारण कच्चा तेल उत्पादन झन्डै आधाले घटेको छ । आक्रमणपछि तेलको उत्पादनमा प्रतिदिन ५७ लाख ब्यारेलले कमी आएको छ ।
उत्पादन कटौती भएसँगै ब्रेन्ट कच्चा तेलको मूल्य १९ प्रतिशतले र बेस्ट टेक्सस इन्टरमिडिएट भनिने अर्को कच्चा तेलको मूल्य १५ प्रतिशतले बढेको समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।
साउदी अरब संसारको सबैभन्दा ठूलो तेल निर्यातकर्ता मुलुक हो । उसले दैनिक ७० लाख ब्यारलभन्दा बढी तेल निर्यात गर्दछ ।
साउदी अरबले पूर्ववत रुपमा तेल उत्पादन गर्न र निर्यात गर्न हप्तौं लाग्नसक्ने अनुमान विश्लेषकहरुले गरेका छन् । तेल उत्पादन र निर्यात सामान्य अवस्थामा नफर्किए नेपाल पनि प्रभावित हुन्छ ।