काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता भएको छ । सत्तारुढ दलका सांसदहरुले आज बिहान ११ः१० बजे जबरा विरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेको हुन् ।
सत्तारूढ दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र सङ्घीय समाजवादी पार्टीका ९५ जना सांसदले उक्त प्रस्ताव संसदमा दर्ता गराएको बताइएको छ।
कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसाल, माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ र एकीकृत समाजवादी पार्टीका सचेतक जीवनराम श्रेष्ठ प्रस्तावक रहेका छन्।
महाअभियोग दर्ता भएसँगै जबरा पदबाट स्वतः निलम्बन भएका छन् । यद्यपि, उक्त प्रस्ताव संस्दको दुई तिहाई सदस्यले पारित गर्नुपर्ने हुन्छ ।दुईतिहाईले पारित गरेमा उनी पदमुक्त हुनेछन् ।
जबरा विरुद्ध मन्त्रिमण्डलमा भागबन्डा खोजेको, मुद्दाको पेशी तोक्ने तथा फैसला गर्ने बेला बार्गेनिङ गर्ने गरेको लगायत आरोप लाग्दै आएको थियो । उनलाई यसअघि राजीनामा दिन चौतर्फी दबाब भए पनि त्यसलाई वेवास्ता गर्दै आएका थिए ।
सर्वोच्च अदातलका न्यायाधीशहरूले नै लामो समय इजलाश बहिस्कार गरेर प्रधान न्यायाधीशको राजीनामा माग गर्दै आएका थिए। जबराले भने बरु आफू महाअभियोग सामना गर्न तयार रहेको तर राजीनामा नदिने बताउँदै आएका थिए ।