जो विमानको पाङ्ग्रामा लुकेर दक्षिण अफ्रिकादेखि नेदरल्याण्ड पुग्दा पनि जीवित रहे

बीबीसी । दक्षिण अफ्रिकाबाट आएको एउटा मालवाहक विमानको पाङ्ग्रा भएको भागमा लुकेर बसेका एक व्यक्तिलाई डच प्रहरीले नेदरल्याण्डको एम्स्टर्ड्यामस्थित स्किपोल विमानस्थलमा जीवितै फेला पारेको छ।

 

सामान्यतया जोह्यानिस्बर्गबाट एम्स्टर्ड्यामको उडानका लागि ११ घण्टा लाग्छ। दक्षिण अफ्रिकाको उक्त सहरबाट उडेको कार्गो विमान केन्याको राजधानी नाइरोबीमा एक पटक रोकिएको ठानिएको छ।

 

लामो दूरीको उडानमा विमानको बाहिरी भागमा लुकेर त्यसरी चढ्ने मानिस जीवित फेला पर्नु असामान्य मानिन्छ।आकाशमा निकै माथि पुगेपछि अक्सिजनको मात्रा तथा तापक्रम घट्ने हुँदा सास फेर्न नसकेर र कठ्याङ्ग्रिएर मानिसको मृत्यु हुन्छ।

 

प्रहरीले ती व्यक्तिको उमेर र उनी कुन देशका नागरिक हुन् भन्ने पत्ता लागिनसकेको बताएको छ।“ती व्यक्ति उक्त विमानको नोज ह्वील भएको भागमा जीवित फेला परे र उनलाई स्थिर अवस्थामै अस्पताल लगियो,” प्रहरी प्रवक्ता योआना हेल्मन्ड्सले समाचारसंस्था एएफपीलाई बताइन्।

 

‘ती व्यक्ति अझै जीवित हुनु अद्भुत कुरा हो,’ उनले भनिन्। विमानको अग्रभागमुनि रहेको र विमान अवतरण गर्दा प्रयोग हुने पाङ्ग्रालाई नोज ह्वील भनिन्छ।

 

डच प्रसारक एनओसका अनुसार विमानस्थलमा फेला परेपछि ती व्यक्तिको शरीरको तापक्रम बढाइएको थियो। एम्बुलेन्स आउँदासम्म सोधिएका प्रश्नको उनले उत्तर दिएका थिए।

 

कार्गो विमान कम्पनी कार्गोलक्सकी एक प्रवक्ताले समाचारसंस्था रोएटर्सलाई इमेलमार्फत् कार्गोलक्स इटालियाले सञ्चालन गरेको विमानमा ती व्यक्ति लुकेर आएको पुष्टि गरेकी छन्।

 

आइतबार जोह्यानिस्बर्गबाट स्किपोल उडेको कार्गोलक्सको मालवाहक विमान नाइरोबीमा एकचोटि ओर्लिएको उडानसम्बन्धी डेटामा देखिन्छ।तर ती व्यक्ति दक्षिण अफ्रिकाबाटै कि केन्याबाट उक्त विमानमा त्यसरी लुकेका हुन् भन्ने थाहा हुन सकेको छैन।

गाडी आयात बढ्दा रसुवा भन्सारको राजस्व अढाई गुणाले वृद्धि, निर्यात भने शून्य Read Previous

गाडी आयात बढ्दा रसुवा भन्सारको राजस्व अढाई गुणाले वृद्धि, निर्यात भने शून्य

सरकारी कम्पनीले नै पालना गर्दैनन् मापदण्ड, खोलामा जग्गा नछाडी संरचना निर्माण Read Next

सरकारी कम्पनीले नै पालना गर्दैनन् मापदण्ड, खोलामा जग्गा नछाडी संरचना निर्माण