कोरोनाको खोप सन् २०२१ को शुरूमै बजारमा ल्याउने चिनियाँ कम्पनीको दाबी

बेइजिङ । एक चिनियाँ औषधि निर्माता कम्पनी सिनोभ्याकले आफूले विकास गरिरहेको कोरोना भाइरस विरुद्धको खोप (कोरोनाभ्याक) सन् २०२१ मा तयार हुने बताएको छ ।कम्पनीले यो खोप संयुक्तराज्य अमेरिका समेत विश्वका विभिन्न मुलुकमा वितरण गरिने जनाएको छ ।

 

सिनोभ्याकका प्रमुख कार्यकारी यीन वेडोङ्ले मानवमा तेस्रो तथा अन्तिम चरणको परीक्षण सफल भएमा संयुक्तराज्य अमेरिकामा कोरोनाभ्याक खोप बिक्री गर्न अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए) समक्ष आवेदन दिइने बताए । यीनले आफूले व्यक्तिगत रुपमा पनि कोरोनाभ्याक लगाइसकेको जानकारी दिए ।

 

‘शुरूमा हाम्रो रणनीति चीन र वुहानका लागि डिजाइन गरिएको थियो । तर, जुन र जुलाईमा हामीले हाम्रो रणनीतिमा परिमार्जन गर्यौं । हामीले यो भ्याक्सिन विश्वमै आवश्यक भइसकेको बुझ्यौं,’ यीनले भने । उनले चिनियाँ शहरमा भाइरस पहिलोपटक देखा परेको पनि स्पष्ट गरे ।‘हाम्रो लक्ष्य अमेरिका, युरोपेली संघ र अन्य मुलुक लगायत विश्वलाई खोप प्रदान गर्नु हो,’ यीनले भने ।

 

अमेरिका, युरोपेली युनियन, जापान र अष्ट्रेलियाका कडा नियमहरूका कारण विगतदेखि नै चिनियाँ खोपहरू विक्री हुन सकेका छैनन् । तर यीन वेडोङ्को भनाइमा यस पटक चिनियाँ खोपले विश्वास जित्नेछ ।

 

चीनमा सरकारी स्वामित्वको समेत चारवटा कम्पनीले कोरोना भाइरस विरुद्धको खोप विकास गरिरहेका छन् जसमा सिनोभ्याक पनि एउटा हो । सरकारी स्वामित्वको सिनोफार्मले दुई किसिमका खोपमाथि परीक्षण गरिरहेको छ भने सैनिक स्वामित्वको क्यानसिनोले पनि खोप निर्माण गरिरहेको छ ।

 

कोरोनाभ्याक खोपको परीक्षणमा ब्राजिल, टर्की र इन्डोनेसियाका २४ हजार व्यक्ति सहभागी छन् । यसबाहेक बंगलादेश र सम्भवत चिलीमा पनि यस खोपको परीक्षण गरिनेछ । सिनोभ्याकले धेरै संक्रमित भएका, ठूलो जनसंख्या रहेका तथा अनुसन्धान र विकासको क्षमता सीमित रहेका मुलुकहरु छनौट गरेको जनाएको छ ।

 

बेइजिङको दक्षिणमा रहेको सिनोभ्याक प्लान्टमा एक वर्षमा पाँच लाख खोप उत्पादन हुन सक्दछ । जैव–सुरक्षित सुविधा सहितको यस प्लान्टमा खोपको डोज साना बोतलमा भर्ने र तिनीहरूलाई बाकसमा राख्ने काम जारी थियो । कम्पनीले आगामी वर्ष सन् २०२१ को फेब्रुअरी वा मार्चसम्ममा एक करोडसम्म खोप उत्पादन गर्ने लक्ष्य लिएको जनाएको छ ।

 

सिनोभ्याकले जोखिममा रहेका बच्चा र बुढाबुढीका लागि कोरोनाभ्याकको सानो खुराक पनि परीक्षण गर्न थालेको छ ।यीनले कम्पनीले कोरोनाभ्याकको मानव परीक्षण चलाउने देशहरूमा पहिलो चरणमा खोप वितरण गर्ने बताए ।

 

खोपको स्वीकृत मापदण्ड बमोजिम कोरोनाभ्याक खोपको अझै तेस्रो चरणको क्लिनिकल परीक्षण सम्पन्न नभए पनि सिनोभ्याकले चीनमा हजारौं मानिसलाई आपतकालीन प्रयोग प्रावधान अन्तर्गत सम्मिलित गरिसकेको छ ।

 

यस वर्षको सुरुमा, चीनले जोखिमयुक्त जनसंख्याका लागि खोप लगाउन अनुमति दिएको थियो जसमा १ हजारभन्दा बढी स्वास्थ्यकर्मी र सीमा रक्षकहरु सामेल थिए ।

 

सिनोभ्याकले सिनोफर्म र क्यानसिनोसँगै गत जुनमा अनुमति प्राप्त गरेको थियो । बेइजिङ महानगरलाई दशौं हजार कोरोनाभ्याकको डोज उपलब्ध गराइएको पनि यीनले बताए ।

 

सिनोभ्याकमा कार्यरत ९० प्रतिशतभन्दा बढी कर्मचारीलाई कोरोनाभ्याक दिइएको कम्पनीले जनाएको छ । एपी

पर्यटन साझेदारीका लागि ७१३ आयोजनाको प्रस्ताव, ३३ अर्ब लागत Read Previous

पर्यटन साझेदारीका लागि ७१३ आयोजनाको प्रस्ताव, ३३ अर्ब लागत

रित्तिँदै संसारका सुन खानी, अब २० प्रतिशत मात्र उत्खनन गर्न बाँकी Read Next

रित्तिँदै संसारका सुन खानी, अब २० प्रतिशत मात्र उत्खनन गर्न बाँकी