नेपालमा कोरोनाको खोप परीक्षण गर्न चीन, रुस र अन्य निर्माता कम्पनीको चासो

काठमाडौं । नेपालमा नयाँ खोपको परीक्षण अनुमति दिने संस्था स्वास्थ्य अनुसन्धान परिषद्‌मा थुप्रै विदेशी खोप निर्माता कम्पनीहरूको तर्फबाट कोरोना भाइरसको खोप परीक्षणका निम्ति चासो देखाइएका छन्।

 

तर आर्थिक व्ययभार अनि स्वास्थ्य सुरक्षा जिम्मेवारीको पाटोबारे स्पष्ट हुन नसकिएकाले हालसम्म कसैलाई परीक्षण अनुमति नदिइएको परिषदका कार्यकारी प्रमुख डा. प्रदीप ज्ञवालीले बताए।

 

अहिले खोपको दौडमा अगाडि परेको देखिएका रुसी, चिनियाँ तथा अन्य खोप निर्माताहरूले चासो देखाएको डा. ज्ञवालीले बताए। ‘तर खोपको क्लिनिकल परीक्षण गराउन सामान्य चासो मात्र नभई कम्पनीको प्रायोजन तथा अन्य सुरक्षाका विषय स्पष्ट नभइञ्जेल अघि बढ्न सकिँदैन,’ उनले भने।

 

यसअघि चिनियाँ कम्पनीको खोपलाई नेपालस्थित उद्योगमा कार्यरत चिनियाँ कामदारहरूमा लगाउनेबारे चर्चा चलेका थिए। तर त्यो पनि अहिले अघि नबढेको डा. ज्ञवालीले सुनाए।

 

‘उनीहरूले यो सरल होला भन्ठानेका होलान् तर खोपको परीक्षण निकै जटिल हुन्छ। हामीले उनीहरूलाई खोप निर्माता कम्पनीको अनुमति लिएर आउन भनेका थियौँ। त्यसपछि उनीहरू अलमलमा परेका छन्,’ उनले भने।

 

उनका अनुसार यस्तो परीक्षण गर्नु अघि कम्पनीको मापदण्ड स्पष्ट पारिनुपर्छ। ‘कुनै कम्पनीको खोप परीक्षण गर्न तपाईँले पाउनुहुन्छ तर त्यसका निम्ति सो कम्पनीका सबै मापदण्ड तथा प्रोटोकल पालना गर्नुपर्छ। त्यसलाई हाम्रा वैज्ञानिकले हेरेर ठीक छ भनेपछि मात्र परीक्षण गर्न पाइन्छ।’

 

कतिपय विज्ञहरूले भने परीक्षणका बेला सहभागी हुने मौका भएमा सफल खोपको आपूर्तिबारे देशको दाबी बलियो हुने भन्दै उचित प्रक्रिया अवलम्बन गरेर सहकार्य गरिनुपर्ने बताउँदै आएका छन्।

 

‘प्रमाणित खोपको पनि अध्ययन जरुरी’

 

विदेशमा कुनै खोप प्रमाणित रूपमा प्रभावकारी देखिएपनि त्यसको नेपालमा प्रयोग थालिहाल्नु अगाडि संक्षिप्त अध्ययन भने गर्नु राम्रो हुने परिषदका कार्यकारी प्रमुख डा। ज्ञवालीले बताए।

 

‘उत्तम के हुन्छ भने बाहिर प्रमाणित भएको भएपनि यहाँको भौगोलिक अवस्था वा मानिसहरूको आनुवंशिक हिसाबले छोटो अध्ययन गर्नु पर्छ,’ उनले भने।

 

केही समयअगाडि राष्ट्रसङ्घको बालबालिकासम्बन्धी निकाय युनिसेफले प्रभावकारी खोप बजारमा आउनेबित्तिकै नेपालसहित निम्न आय तथा निम्नमध्यम आय भएका ९२ वटा देशका निम्ति खरिद सहजीकरण गरिदिने जनाएको थियो।

 

युनिसेफले ‘कोभ्याक्स सुविधा’को तर्फबाट ती देशहरूका निम्ति खोप खरिद गरी आपूर्ति गर्ने जनाएको छ। कोभिड–१९ सम्बन्धी विभिन्न खोप निर्माताहरूले बनाइरहेका विभिन्न खोपको अनुसन्धान, विकास, उत्पादनमा सघाउ पुर्‍याउन तथा तिनको मूल्य निर्धारण गर्ने विश्वव्यापी मञ्चको रूपमा कोभ्याक्स गठन भएको हो।

 

यसमा सहभागी सबै देशले खोपको विकास हुनेबित्तिकै त्यसमा समान पहुँच पाउने जनाइएको छ।

 

हाल कुन खोप कुन चरणमा ?

 

अहिले विश्वभरि एक सयभन्दा धेरै खोपहरू विभिन्न चरणका परीक्षणमा रहेका छन्। धेरै जसो प्रिक्लिनिकल भनिने परीक्षण चरणमा छन् जुन चरणमा जनावरहरूमा यसको सुरक्षा र प्रभावकारिता हेरिन्छ।

 

सेप्टेम्बरको मध्यसम्ममा पहिलो चरणमा २७ वटा खोप रहेको, दोस्रो चरणमा १४ वटा रहेको, तथा तेस्रो चरणमा ९ वटा रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूमा जनाइएको छ।

 

पहिलो चरणमा सुरक्षा तथा डोज वा मात्रा परीक्षण गरिन्छ भने दोस्रो चरणमा सयौँ मानिसमा विस्तारित सुरक्षा परीक्षण गरिन्छ। त्यस्तै तेस्रो चरणमा भिन्न उमेर समूह तथा जातीय समूहका हजारौँ मानिसमा व्यापक सुरक्षा र प्रभावकारिता परीक्षण गरिन्छ।

 

तेस्रो चरणमा रहेका चर्चित खोपमध्ये अक्सफोर्ड विश्वविद्यालय–एस्ट्राजेनेका, रुसको गामालेय तथा चिनियाँ खोपहरू छन्।केही अन्तर्राष्ट्रिय समाचारमा आएका विवरणअनुसार तीमध्ये पाँचवटालाई भने प्रारम्भिक तथा सीमित प्रयोगका निम्ति सम्बन्धित देशमा अनुमति दिइएको छ।

 

तिनमा चीनको क्यानसाइनो बायो, साइनोभ्याक, साइनोफार्म वुहान इन्स्टिच्युट अफ बायोलोजिकल प्रोडक्ट्स, र साइनोफार्म बेइजिङ् इन्स्टिच्युट अफ बायोलोजिकल प्रोडक्ट्स तथा रुसको गामालेय रहेका छन्।

 

गत साता एकजना खोप लगाएका व्यक्तिमा समस्या देखिएपछि अक्सफोर्डको खोप परीक्षण केही समय रोकिएर फेरि थालिएको थियो।सामान्यतया एउटा सफल खोप निर्माण गर्न वर्षौँ मात्र नभइ दशकौँ लाग्ने गरेको थियो।

 

तर यसपटक विश्वमा अभूतपूर्व रूपमा देखापरेको महामारीका कारण धेरै देशका धेरै वैज्ञानिकहरूले दिनरात खोप निर्माणमा मेहनत गरिरहेका छन्।

 

धेरै विज्ञहरू ठान्छन् कोरोनाभाइरस विरुद्धको खोप व्यापक रूपमा उपलब्ध हुन कम्तीमा सन् २०२१ को मध्यसम्म लाग्न सक्छ।

-बीबीसी

अहिलेसम्मकै धेरै १५३९ जनामा कोरोना पुष्टि, १०६८ डिस्चार्ज, ८ जनाको मृत्यु Read Previous

अहिलेसम्मकै धेरै १५३९ जनामा कोरोना पुष्टि, १०६८ डिस्चार्ज, ८ जनाको मृत्यु

बैंकहरूले असोजभित्र गाडी र घर कर्जाको स्थिर ब्याजदर तोकिसक्नुपर्ने Read Next

बैंकहरूले असोजभित्र गाडी र घर कर्जाको स्थिर ब्याजदर तोकिसक्नुपर्ने