दक्षिण एशियामा कोरोना : भारतमा डढेलोसरी फैलिँदै, अरु देशको यस्तो छ अवस्था

काठमाडौं । महामारीको रुपमा फैलिएको कोरोना भाइरसले अहिले विश्वलाई नै आक्रान्त बनाएको छ । २०१९ को अन्त्यतिर चीनको वुहान सहरमा देखिएको यो भाइरस अहिले विश्वका २१५ देशमा फैलिसकेको छ ।

 

सोमबार बिहानसम्ममा ५५ लाखभन्दा बढी संक्रमित भएका छन् भने ३ लाख ४६ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।

 

पछिल्लो समय कोरोनाको उद्गमस्थल चीनको जनजीवन सामान्य हुँदै गएको छ भने ब्राजिल, रसिया र भारत नयाँ इपिसेन्टरको रुपमा देखिन थालेका छन् ।

 

युरोपेली देशहरुमा यसको संक्रमण कम हुँदै गए पनि दक्षिण एशियाली देशहरुमा भने बढ्दो क्रममा रहेको छ । एशियाली देशहरुमा पनि विशेष गरी भारतमा यो डढेलोसरी फैलिरहेको छ ।

 

दक्षिण एसियाली देशमा मुख्य गरी कोरोनाबाट भारत, पाकिस्तान बढी प्रभावित भएका छन् भने यी देशमा यसको प्रकोप तीव्र रुपमा बढ्दो छ ।

 

दक्षिण एशियाका भुटान बाहेक अन्य सबै देशमा कोरोना भाइरसका कारण मानिसको ज्यान गइसकेको छ । अहिलेसम्म दक्षिण एसियामा ५ हजार ८६१ मानिसको मृत्यु समेत भइसकेको छ भने अहिलेसम्म करिब २ लाख ४० हजार भन्दा बढी संक्रमित भएका छन् ।

 

यस्तो छ दक्षिण एशियाली देशहरुको पछिल्लो अवस्था :

 

नेपाल

नेपालमा हालसम्म ६०३ जना कोरोना भाइरस संक्रमित फेला परेका छन्। १०० जना उपचारपछि निको भएर घर फर्केका छन् भने ३ जनाको ज्यान गइसकेको छ ।

 

पछिल्लो दिनमा नेपालमा पनि कोरोना संक्रमण तीव्र रुपमा फैलिरहेको छ । पछिल्लो २ सातामा मात्र करिब ५०० नयाँ संक्रमित थपिएका छन् ।

 

अहिले कर्णाली प्रदेश बाहेका अरु सबै प्रदेशमा कोरोना संक्रमण फैलिसकेको छ । विशेषगरी भारतसँग सीमा जोडिएका तराईका बाँके, पर्सा लगायत जिल्लाहरु हटस्पट बनेका छन् ।

 

कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि भन्दै सरकारले लकडाउन लागू गरेको २ महिना बितिसकेको छ । तर लकडाउनले कोरोना संक्रमण फैलिन नदिने अपेक्षा गरे पनि सरकारको लापारबाही र कमजोर व्यवस्थापनले यसको संक्रमण तीव्र गतिमा बढिरहेको छ ।

 

भारत

 

दक्षिण एशियाली देशहरुमा भारत कोरोनाको विश्वकै नयाँ इपिसेन्टर बन्दै गएको छ । पछिल्लो दिनमा भारतमा औसतमा दैनिक ६ हजारभन्दा बढी नयाँ संक्रमित थपिरहेका छन् ।

 

भारत अहिले विश्वकै धेरै संक्रमित भएको देशको दशौं स्थानमा पुगेको छ । अहिलेसम्म भारतमा १ लाख ३८ हजारभन्दा बढी संक्रमित भएका छन् भने ४ हजार २४ जनाको मृत्यु भइसकेको छ भने ५७ हजारभन्दा बढी निको भएका छन् ।

 

कोरोनाको संक्रमण फैलिन नदिन भारतले पनि डेढ महिनादेखि लक डाउन लागू गरेको छ । संक्रमण फैलिँदै गएपछि अहिले भारतको अवस्था झन जटिल बन्दै गएको छ ।

 

यद्यपि पछिल्ला दिनमा भारतले आर्थिक गतिविधि भने बढाउँदै लगेको छ । भारतले रेल सेवा, सार्वजनिक यातायात र आन्तरिक हवाइ सेवा सञ्चालनमा ल्याइसकेको छ ।

 

पाकिस्तान

 

दक्षिण एसियामा पाकिस्तान भारतपछि सबैभन्दा बढी कोरोना प्रभावित देश हो। यहाँ ५४ हजारभन्दा बढीमा संक्रमण देखिएको छ भने १ हजार १३३ जनाको मृत्यु भइसकेको छ ।

 

कोरानाकै बीच अर्थतन्त्रलाई चलायमान बनाउन पाकिस्तानलले अधिकांश उद्योग, कलकारखाना सञ्चालन गरिरहेको छ । यस्तै, रेल, सार्वजनिक यातायात र हवाई सेवा पनि निरन्तर सञ्चालन गरिरहेको छ ।

 

बंगलादेश

बंगलादेशमा अहिलेसम्म ३३ हजार ६१० जना कोरोना संक्रमित भेटिएको छ । बंगलादेशमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ४८० पुगेको छ। संक्रमितमध्ये ६ हजार ९०१ जना उपचारपछि निको भइसकेका छन् ।

 

कोरोना भाइरसको संक्रमित सुरु भएसँगै बंगलादेशले सार्वजनिक यातायात र अन्तरिक उडानमा समेत रोक लगाएको थियो। यद्यपि पछिल्लो समय त्यहाँ गार्मेन्ट लगायतका कारखाना सञ्चालनमा ल्याएको छ ।

 

श्रीलंका

 

श्रीलंकामा सोमबार बिहानसम्ममा कोरोना भाइरस संक्रमितको संख्या १ हजार १४१ पुगेको छ भने ९ जनाको मृत्यु भएको भइसकेको छ ।

 

श्रीलंकाका प्रधानमन्त्री गोतावे राजपाक्षले संक्रमित बिरामी देखिने बित्तिकै सार्वजनिक यातायात बन्द गर्ने निर्णय गरेका थिए। आन्तरिक हवाई यात्रामा पनि रोक लगाएका थिए।

 

भुटान

दक्षिण एशियाली देशमध्ये भुटानमा सबैभन्दा कम प्रभावित मुलुक हो । भुटानमा अहिलेसम्म २७ जनामा मात्र कोरोना भाइरसको संक्रमण देखिएको छ । संक्रमितमध्ये ६ जना उपचारपछि निको भइसकेका छन् । भुटानमा अहिलेसम्म कोरोनाले मानिसको ज्यान गएको छैन ।

 

सुरुमा भारतबाट छिरेका एक व्यक्तिमा कोरोना देखिएपछि भुटानले सबै नाकाहरु बन्द गरेको थियो। अहिले भुटानमा नयाँ संक्रमित थपिएका छैनन्।

 

अफगानिस्तान

 

अफगानिस्तानमा १० हजार ५८२ जनामा कोरोना संक्रमण देखिएको छ। २१८ जनाको मृत्यु भएको छ भने १ हजार ७५ जना निको भइसकेका छन् ।

 

पाकिस्तान र भारतसँग सीमा जोडिएका कारण अफगानिस्तानमा पनि संक्रमित बढ्ने सम्भावना रहेको भन्दै उसले सबै सीमानाका बन्द गरेको छ।

 

माल्दिभ्स

 

माल्दिभ्समा १ हजार ३७१ जना कोरोना भाइरस संक्रमित भेटिएका छन्। हालसम्म त्यहाँ ४ जनाको मृत्यु भएको छ भने १४४ जना उपचारपछि निको भइसकेका छन् ।

किसानको राष्ट्रिय बजार सञ्जाल निर्माण हुने Read Previous

किसानको राष्ट्रिय बजार सञ्जाल निर्माण हुने

कोरोना संक्रमित भेटिएपछि जोरपाटी-सुन्दरीजल सडकको काम रोकियो Read Next

कोरोना संक्रमित भेटिएपछि जोरपाटी-सुन्दरीजल सडकको काम रोकियो