काठमाडौं । चौतर्फी विरोध भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आफैंले जारी गरेका दुई अध्यादेश फिर्ता लिएका छन् ।
शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी दुवै अध्यादेश फिर्ता लिने निर्णय गरेको हो ।
विपक्षी राजनीतिक दल, नागरिक समाज, आफै पार्टी भित्रबाट समेत व्यापक विरोध भएपछि ओली आफैले ल्याएको अध्यादेश फिर्ता लिन बाध्य भएका हुन् ।
बिहीबार भैँसेपाटीमा बसेको नेकपा सचिवालयका ६ शीर्ष नेताहरुको बैठकले अध्यादेश फिर्ता लिनुपर्ने निष्कर्ष निकालेको थियो भने २४ घण्टा भित्र फिर्ता लिन अल्टिमेटम समेत दिएका थिए ।
अब आजै प्रधानमन्त्री ओलीले राष्ट्रपतिलाई अध्यादेश खारेजीका लागि पत्र पठाउने सम्भावना रहेको बताइएको छ । संविधानको धारा ११४ को १ ख मा अध्यादेश राष्ट्रपतिबाट जुनसुकैबेला खारेज हुनसक्ने प्रावधान छ।
प्रधानमन्त्री ओलीले सोमबार ‘राजनीतिक दलसम्बन्धी दोस्रो संसोधन) अध्यादेश २०७७’ र ‘संवैधानीक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७७’ अध्यादेश ल्याएका थिए ।
जसमा ४० प्रतिशत सांसद वा केन्द्रीय सदस्यले पार्टी फुटाउन सक्ने व्यवस्था थियो भने संवैधानिक परिषदमा बहुमतले निर्णय लिन सक्ने प्रावधान थियो ।