काठमाडौं । कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित मुलुक अमेरिकामा मृत्यु हुनेको संख्या ५० हजार नाघेको छ । शुक्रबार बिहानसम्म अमेरिकामा मृत्यु हुनेको संख्या ५० हजार २४३ पुगेको छ ।
पछिल्लो २४ घन्टामा मात्रै अमेरिकामा २ हजार ३४२ जनाको मृत्यु भएको छ। त्यहाँ अहिलेसम्म ८ लाख ८६ हजार ४४२ जना संक्रमित भएका छन्। बिहीबार मात्रै अमेरिकामा ३१ हजार भन्दा धेरै नयाँ संक्रमित थपिएका छन्।
अमेरिकामा हालसम्म करिब ४७ लाख व्यक्तिमा कोरोना परीक्षण गरिएको छ। संक्रमितमध्ये करिब ८६ हजार बिरामी निको भई घर फर्किएका छन् भने १५ हजार व्यक्तिहरु गम्भीर रहेका छन्।
अमेरिकामा सबैभन्दा बढी प्रभावित न्यूयोर्क रहेको छ। न्यूयोर्कमा २० हजार बढीको मृत्यु कोरोनाबाट भएको छ भने २ लाख ६८ हजार बढी संक्रमित रहेका छन्।
त्यस्तै न्यूजर्सीमा १ लाख संक्रमित रहेका छन् भने ५४ सय बढीको मृत्यु भएको छ। त्यसैगरी इटालीमा बिहीबार ४ सय ६४ जनाको मृत्यु भएको छ। यो सँगै इटालीमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २५ हजार ५ सय ४९ पुगेको छ।