मजदूरलाई अर्ग्यानिक राहत : १० पाथी मकै र १५ पाथी कोदो

कोरोना भाइरस जोखिमले दैनिक श्रम र ज्याला गुमाएकाका परिवारलाई बागलुङको ताराखोला गाउँपालिकाले राहत वितरण गरेको छ । लकडाउनले समस्या झेलेका श्रमिक र मजदूरलाई खेतबारीमा उत्पादित मकै, कोदो, फापरलगायत अन्नबाली वितरण गरिएको हो ।

 

गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीका अनुसार शनिबार वडा नं १ का ३३ विपन्न परिवारलाई १० र १५ पाथीका दरले मकै–कोदो वितरण गरियो । यस्तै प्रतिपरिवार दाल दुई किलो चिनी दुई किलो, तेल एक लिटरसहित नुहाउने–हात धुने साबुन प्रदान गरिएको जनाइएको छ ।

 

आइतबार वडा नं ३ का २५ परिवारलाई राहत बाँडिएको उनले बताए। बाँकी वडा नं. २ का २५, ४ का २६ र ५ का २३ परिवारलाई आज राहत वितरण गरिने उनको भनाइ छ ।

 

बिहान बेलुका हातमुख जोड्नै कठिन भएका परिवारको वडागत तथ्याङ्क सङ्कलन गरी राहत वितरण गरिएको हो । ‘तत्काललाई गाउँकै उत्पादन राहतमा प्रयोगमा गर्ने निर्णय भएकाले सोहीअनुसार गरेका छौँ,’ अध्यक्ष घर्तीले भने, ‘स्थानीय उत्पादन जैविक र पौष्टिक पनि हुन्छ ।’

 

राहतस्वरुप बाँड्नका लागि गाउँपालिकाले गाउँका किसानबाट ६० मुरी मकै र २० मुरी कोदो खरिद गरेको थियो । चार जनाको परिवारलाई १० र त्योभन्दा धेरै सदस्य भएका परिवारलाई १५ पाथीका दरले अन्न वितरण गर्ने गरिएको छ ।

 

बजारबाट नकिनी गाउँमै उब्जाउ भएको अन्नपातलाई राहतमा प्रयोग गर्ने गाउँपालिकाको सोचलाई धेरै रुचाएका छन् । कोरोना भाइरसविरुद्ध शरीरको प्रतिरक्षा प्रणाली बलियो पार्न घरेलु उत्पादनले सघाउने विश्वाससमेत गरिन्छ ।

 

ताराखोला स्थानीय उत्पादनका हिसाबले अगाडि छ । त्यहाँको मुख्य नगदेबाली भाँगो र आलु हो । गाउँपालिकाले कुनै परिवार छुटेका भए पनि राहतमा समेट्ने योजना बनाएको छ । अवस्था हेरेर राहतका थप कार्यक्रम ल्याउने बताइएको छ ।

 

जिल्लाका दशै स्थानीय तहले सङ्कटको यस घडीमा गरिब तथा विपन्न परिवारलाई राहत वितरण गरिरहेका छन् । लकडाउनले दैनिक ज्याला मजदूरी गरेर परिवार धान्ने चर्को मारमा परेका छन् ।रासस

‘एजेन्ट’लाई २७ लाख कसिमन नदिन निगमलाई निर्देशन Read Previous

‘एजेन्ट’लाई २७ लाख कसिमन नदिन निगमलाई निर्देशन

अब क्वारेन्टाइनमा रहेका व्यक्तिको अनुमगन मोबाइल एपबाटै Read Next

अब क्वारेन्टाइनमा रहेका व्यक्तिको अनुमगन मोबाइल एपबाटै