अमेरिकाको न्यूयोर्कस्थित ब्रोङ्स जूमा एउटा बघिनीलाई कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि भएको छ। चार वर्ष उमेर पुगेकी उक्त मलेअन बघिनीबाट सङ्कलित नमुनामा भाइरस भेटिएको आयोवास्थित राष्ट्रिय भेटरिनरी प्रयोगशालाले जनाएको छ।
प्रयोगशालाका अनुसार उक्त बघिनीसहित उसकी बहिनी, अन्य दुई आमुर बाघ र तीन अफ्रिकी सिंह सुक्खा खोकीबाट पीडित छन्। तर उनीहरूलाई निको हुने अपेक्षा गरिएको छ।
चिडियाखानाका एक कर्मचारीले तिनलाई कोरोनाभाइरस सारेको अनुमान गरिएको छ। पर्याप्त सावधानी लिँदै परीक्षण गर्दा नाडिया नाम दिइएकी उक्त बघिनीमा कोरोनाभाइरस भेटिएको ब्रोङ्स जूले उल्लेख गरेको छ।
तिनमा खानेकुरामा केही अरुचि देखिए पनि भेटरिनरी स्याहार उपलब्ध गराइएकाले ती बाघ र सिंह राम्रो स्थितिमा रहेको आइतवार प्रकाशित एउटा विज्ञप्तिमा उक्त चिडियाखानाले भनेको छ।
भिन्न प्रजातिमा नयाँ सङ्क्रमण भिन्न रूपमा देखिने भएकाले बाघ र सिंहजस्ता वन्यजीवमा कोरोनाभाइरस कसरी विकसित हुन्छ भन्ने थाहा नभएको भए पनि तिनको निगरानी गरिने उक्त चिडियाखानाले बताएको छ।
चिडियाखानामा भएका बाघ जातिका अन्य जीवमा रोगको कुनै लक्षण देखिएको छैन। त्यहाँ अरू बाघ, हिउँचितुवा, चीटा, ध्वाँसेचितुवा, आमुर चितुवा, प्युमा र सर्भल पनि छन्।
“तिनको स्याहार गर्न खटिएका तर लक्षण नदेखिएकाे सङ्क्रमण भएका एक व्यक्तिबाट हाम्रा बाघलाई सङ्क्रमण सरेको हो”, ब्रोङ्स जूले भन्यो।
सङ्क्रमणको लक्षण देखिएका सबै जीवलाई चिडियाखानामा छुट्टै राखिएको छ। न्यूयोर्कमा भएका चारवटा चिडियाखाना मार्च १६ देखि आगन्तुकका लागि बन्द छन्।
– बीबीसी
