‘सीमा क्षेत्रमा आउने सबैलाई नेपाल प्रवेश गर्न दिने हो भने फर्कनेको संख्या कहिल्यै रोकिँदैन’

काठमाडौं । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले १ हप्तादेखि लकडाउन लागू गरेको छ । यसले पूरै देशकै जनजीवन ठप्प भएको छ । सबै घरभित्र बसेका छन् ।

 

तर, रोजगारीका लागि भारत गएका नेपाली आफ्नो देश प्रवेश गर्न नपाउँदा विगत ३ दिनदेखि भारतीय सीमा नाकामै अलपत्र परेका छन् । अहिले भारतमा समेत लकडाउन जारी नै छ । यस्तो अवस्थामा उनीहरू न उतै फर्कन सक्ने अवस्था न त आफ्नै घर आउन पाउने अवस्थामा छन् । छन् त केवल भोकै । अनि आफ्नै देश प्रवेश गर्नका लागि नाराबाजी गर्न विवश ।

 

अहिले करिब ५ सयभन्दा बढी नेपाली नागरिक दार्चुला सदरमुकाम पारी भारतीय भूमिमा अलपत्र परेका छन् । लकडाउनका कारण सीमा क्षेत्रमा बसेका नेपाली सुरक्षाकर्मीले उनीहरुलाई नेपाल प्रवेशमा रोक लगाएको छ ।

 

कोरोनाको जोखिम न्यूनीकण गर्नका लागि लगाइएको नाका बन्द सँगै भारतका विभिन्न ठाँउहरु बाट मजदूरी गरेर फर्किएका उनीहरू सीमा क्षेत्रमा अलपत्र परेका छन् । महाकाली पुलको गेट नखोलिएको भन्दै आइतबार सरकारविरुद्ध नाराबाजी गरेका थिए ।

 

उनीहरुले भारतीय भूमिमा बसेर नेपाल प्रवेश गर्न पाउनु पर्ने भन्दै नाराबाजी समेत गरेका थिए । अहिले सो भिडियो सामाजिक सञ्जारमा भाइरल बनेको छ । उक्त भिडियोमा उनिहरुले ‘आफ्नो जनता फिर्ता ले, नेपाल नाका खुल्ला गर’ भन्दे दबाब दिइरहेको देखिन्छ ।

 

गृह मन्त्रालयका प्रवक्ता, उमाकान्त अधिकारी भने सीमा क्षेत्रमा अलपत्र नेपालीलाई नेपाल प्रवेश गर्न दिने बारे केही निर्णय नभएको बताउँछन् । ‘उनीहरु त्यहीँ सीमा क्षेत्रमा बस्छन्, नेपाल ल्याउने त्यस्तो केही निर्णय भएको छैन, आउने जाने सबै बन्द छ,’ उनले भने, ‘सीमा क्षेत्रमा आउने जति सबैलाई प्रवेश गर्न दिने हो भने नेपाल फर्कनेको संख्या कहिले रोकिँदैन ।’

 

भलै, आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले भारतीय सीमा क्षेत्रमा अलपत्र नेपालीलाई शर्तसहित स्वदेश प्रवेश गर्न दिने निर्णय गरेको छ । अलपत्र नागरिकलाई अनिवार्य रूपमा क्वारेनटाइनमा बस्ने गरी नेपाल प्रवेश गर्न दिने निर्णय गरेको होे । यससँगै उनीहरु नेपाल प्रवेश गर्ने बाटो भने खुलेको छ ।

 

मन्त्रिपरिषद्ले भारतीय सीमा क्षेत्रमा अलपत्र नागरिकलाई नेपाल प्रवेश गर्न दिने भने पनि उनीहरु अझै सीमा क्षेत्रमै बसिरहेका छन् । उनीहरुलाई आवश्यक प्रक्रिया पूरा गरी नेपाल प्रवेश गराइने बताइएको छ । उनीहरुको स्वास्थ्य जाँच गरी कम्तीमा १४ दिन क्वारेन्टाइनमा राखिने छ ।

 

राधेराधेको १७ तले अलपत्र भवनमा अब खाद्यान्न भण्डार गरिने Read Previous

राधेराधेको १७ तले अलपत्र भवनमा अब खाद्यान्न भण्डार गरिने

कोरोना महामारी : दक्षिण एशियाली देशमा कस्तो छ अवस्था ? Read Next

कोरोना महामारी : दक्षिण एशियाली देशमा कस्तो छ अवस्था ?