काठमाडौं । हाल अस्पतालहरुमा ठूला डाक्टरहरु छुट्टी लिएर घर बसेका छन् । नर्सका इन्चार्ज तथा मेट्रोनहरु समेत घरमै बस्ने गरेको पाइएको छ । अन्य इन्टर्न डाक्टर तथा नर्सहरुलाई पीपीई (परर्सनल प्रोटेक्टीभ इक्यूपमेन्ट) बीना काममा खटाइएको छ ।
प्रत्येक वार्डमा एक जना इन्चार्ज अनिवार्य हुनु पर्छ । तर, हाल अस्पतालहरुमा केहीमा यस्तो भेटिए पनि अन्यमा इन्चार्ज नै भेटिदैंनन ।
यसरी कोरोना भाइरसका कारण डाक्टर र नर्स आफै त्रसित हुँदा उपचारमा कस्तो असर पर्न सक्छ भनेर सम्बिन्धित निकायहरुले सोचेको देखिदैंन ।
‘हामीसँग सामान्य सुरक्षाका उपकरणहरु पनि छैनन् । यस्तोमा ज्यानको माया मारेर काम गर्नु परिरहेको छ । हामीलाई सिकाउने काम अह्राउने सिनियरहरु पनि नभएको अवस्था छ,’ अल्का हस्पिटलमा कार्यरत एक नर्सले भनिन् ।
विश्वभर फैलिएको कोरोना (कोभिड १९) भाइरस नेपालमा पनि देखिन शुरु भइसकेको छ । नेपालमा यो भाइरस ४ जनामा देखिएको हो । एक जना कोरोना भाइरस संक्रमित निको भएर फर्किसकेका छन् ।
हाल सरकारले ९ वटा अस्पतालहरुलाई कोरोनाको उपचारको लागि छुट्याएको छ । यसमा पाटन, टेकु, वीर, किष्ट, बिएनबी, किर्तिपुर अस्पताल, अल्का, निदान र सुमेरु अस्पताल रहेका छन् ।
यी अस्पतालहरुमा उपचारका लागि आवश्यक सुरक्षा सामग्रीहरु अझै पनि उपलब्ध गराइएको छैन ।
अस्पतालमा उपस्थित नर्स तथा डाक्टरहरु पीपीई बीना काम गर्न डराइ रहेका छन् । हालसम्म कुनै अस्पतालले सबै स्वास्थ्यकर्मीहरुलाई उपलब्ध गराएको पाइएको छैन । पीपीई भनेको हाल कोरोनाको जाँच वा उपचार गर्दा नर्स तथा डाक्टरहरुमा संक्रमण नहोस भनेर लगाइने एक पोशाक हो, जसले शरिरको टाउको देखि खुट्टासम्म पुरै भाग छोपेको हुनुपर्छ ।
यति मात्र होइन, हाल अस्पतालहरुमा कोरोना विरुद्ध काम गर्ने डाक्टर तथा नर्सहरुलाई खान बस्नको लागि समेत व्यवस्था छैन ।
‘मैले हिजोबाट आफ्नो जागिर छाडें । अस्पतालले सामान्य मास्क र पञ्जा समेत उपलब्ध गराउन नसकेको अवस्था छ । अनी जोखिमपूर्ण काम गरेर हरेक दिन घर फर्किनु पर्छ । यस्तोमा आफुलाई संक्रमण भयो भने घरपरिवारलाई पनि सर्ने जोखिम भएकाले हिजोबाट जागिर छाडें । घरपरिवारलदे पनि जागिर खान जानै पर्दैन भने’, कान्तिपुर अस्पतालमा कार्यरत एम्बुलेन्स चालक श्रवण बस्नेतले भने ।
डाक्टर, नर्स तथा अन्य स्वास्थ्यकर्मीहरु काम गरेर फर्किएर आफ्नै घर जाने हो भने उनीहरु मार्फत उनीहरुको घर परिवारलाई समेत कोरोना भाइरस सर्न सक्छ ।
विराटनगरको कोशी अस्पतालमा समेत पीपीई नपाएका कारण डाक्टर तथा नर्सहरु काम गर्न मानिरहेका छैनन् । पीपीईको माग गरे पनि हालसम्म उपलब्ध हुन नसक्दा त्यहाँका डाक्टर तथा नर्सहरु आन्दोलनमा उत्रेका छन् । सो अस्पतालमा अहिले कुनै पनि सेवा सञ्चालनमा आउन सकेका छैनन् । यसले सामान्य उपचारका लागि आउने विरामीहरु समेत पिडित भइरहेका छन् ।