उपत्यकाका होर्डिङ बोर्ड तीव्र गतिमा हटाइँदै, १ महिनामा ८ हजार हटाइए

काठमाडौं । काठमाडौं महानगरपालिकाले सहर कुरुप बनाउने गरी राखिएका होर्डिङ बोर्ड, पर्चा, पम्पलेट, पोस्टरलगायतका सामग्री हटाइरहेको छ । विगत लामो समयदेखि हटाउन सुरु गरको भएता पनि सो कार्यले अहिले तिव्र रुप लिएको हो ।

 

महानगरले उपत्यकालाई सुन्दर र सफा बनाउने कामलाई जति सक्दो छिटो सक्काउने लक्ष्यसहित अघि बढाएको छ । गृह मन्त्रालयले गत पुस २१ गते दिएको निर्देशनपछि महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका पर्चा, पम्पलेट, बोर्ड, होर्डिङ बोर्ड, पोस्टरलगायतका सामाग्री हटाउन सुरु गरेको हो ।

 

गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा बसेको बैठकले काठमाडौं महानगरपालिका भित्र तत्काल चार ओटा समुह बनाएर होर्डिङ बोर्ड, पर्चा, पम्पलेट, पोस्टर, भित्तेलेखन हटाउन सुरु गर्ने निर्णय गरेको थियो । साथै, अन्य स्थानीय तहको हकमा संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत निर्देशन दिई कारवाही अघि बढाउने निर्णय समेत भएको थियो ।

 

‘हामीले ७ हजार ८ सय थान बढि होडिङ बोर्ड हटाइसकेका छौं, यसलाई निरन्तरता दिदैं लैजानेछौं,’ काठमाडौं महानगर प्रहरी प्रमुख धनपति सापकोटाले भने ।

 

महानगरले १ महिनाको अवधिमा कुल ७ हजार ८३९ बोर्डहरु हटाइसकेको छ । घरको भित्ता, झ्याल ढाकेर राखिएका साना बोर्डहरू समेत हटाइएको छ । यस अभियान अन्तर्गत अहिलेसम्म एयरपोर्ट, नयाँ बानेश्वर, बिजुली बजार, माइतीघर, थापाथली, त्रिपुरेश्वर लगायतका क्षेत्रको होर्डिङ बोर्ड हटाइएको प्रमुख सापकोटाले बताए ।

 

महानगरपालिकाको सक्रियतामा सोल्टिमोड, महाराजगञ्ज, कृष्ण पाउराटी, हात्तीसार, नागपोखरी, नारायणचौर, गैरीधारा, बालुवाटार हुँदै छाते ढुंगासम्म नियमविपरीत राखिएका बोर्डहरु हटाइएका हुन् ।

 

महानगरपालिका विज्ञापन बोर्ड तथा प्रचारप्रसार सामग्री नियमन नीति २०७० अनुसार काठमाडौं महानगर क्षेत्र भित्र सार्वजनिक स्थानमा अनाधिकृत रूपमा होर्डिङ बोर्ड राख्न नपाइने उल्लेख छ ।

 

उक्त नीतिमा बिजुलीका फलामे पोल तथा सिमेन्टको पोलमा व्यावसायिक तथा फ्रेमसहितको व्यानर राख्न पनि प्रतिबन्ध गरिएको छ । होर्डिङ बोर्ड हटाएसँगै महानगरले अव डिजिटल बोर्डलाई बढि प्रथामिकता दिनेछ ।

 

महानगरका अनुसार सडक छेउछाउमा डिजिटल बोर्ड राख्दा सहर सुन्दर देखिने भएकाले यो योजना अघि बढाएको हो । होर्डिङ बोर्ड, पर्चा, पम्पलेट, पोस्टर, लगायतका सामग्री हटाइएको ठाउँहरुमा यहि बर्ष भित्र डजिटल बोर्ड राख्ने योजना सुरु हुने सापकोटाले बताए ।

सरकारका दुई वर्ष : उत्पादन बृद्धिसँगै २० प्रतिशत घट्यो काठको आयात Read Previous

सरकारका दुई वर्ष : उत्पादन बृद्धिसँगै २० प्रतिशत घट्यो काठको आयात

२४ वर्षदेखि बन्द पाटन विमानस्थलको कालोपत्र सम्पन्न Read Next

२४ वर्षदेखि बन्द पाटन विमानस्थलको कालोपत्र सम्पन्न