कोरियको जागिर छाडेर कुखुरापालनमा रमाउँदै युवा

पाँच वर्ष कोरिया बसेर फर्किएका जीवन जिसीको हिजोआज कुखुरा रेखदेख र सुसारमा दैनिकी बित्छ । विदेशको रहर त्यागेर व्यावसायिक कुखुरापालन रोजेका उनले गाउँघरमा भविष्य देखिरहेका छन् ।

 

बागलुङ नगरपालिका–४ पाखाथरका ३३ वर्षीय जिसीले सात महिनाअघि आठ लाख लगानीमा ‘जेनिसा पोल्ट्री फार्म’ सञ्चालनमा ल्याए । ‘परिश्रम गरे यही सफल हुन सकिन्छ भन्ने अठोटले व्यवसाय शुरु गरेको हुँ’, उनले भने ।

 

उनको ‘फार्म’ को क्षमता एक हजार कुखुरा अट्ने रहेको छ । जाडो मौसम भएकाले अहिले ५५० मात्र ‘ब्रोइलर’ जातका कुखुराका चल्ला हुर्कंदै छन् । ‘यसअघि दुई लट कुखुरा बेचियो, राम्रो आम्दानी भयो’, उनले भने । उनले पछिल्लो समय उचित मूल्य र बजारको सुनिश्चितता भएमा व्यवसायमा लगानी बढाउने सोच सुनाए । उहनलाई श्रीमती जेनिसालगायत परिवारका सदस्यले व्यवसायमा सघाउँछन् ।

 

जिसी परिवारले घरमा बसीबसी उद्यम गरेको देख्दा आफन्त, छिमेकी औधि खुशी छन् । उनको नजिक वैकुण्ठ उपाध्यायको कुुखुरा ‘फार्म’ छ । उनले पनि गत वर्षदेखि सो व्यवसाय शुरु गरेका थिए । वडा नं ३ रातमाटाका उनले पाखाथरमा रहेको छिमेकीको जग्गा भाडामा लिएर ‘फार्म’ सञ्चालनमा ल्याएका थिए । उनले अहिले वार्षिक ६० हजार भाडा तिर्नुहुन्छ । करिब सात लाख लगानीमा उनले दुई हजार कुखुरा अट्ने आधुनिक खोर निर्माण समेत गरेका छन् । उनले ‘ब्रोइलर’ कुखुरा पाल्दै आएका छन् ।

 

रातमाटाकै ३६ वर्षीय विजय शर्मा विसं २०६१ देखि कुखुरापालन व्यवसायमा सम्लग्न छन् ।उनको घर व्यवहारदेखि, बालबच्चाको पढाइसम्म सोही व्यवसायबाट धानिएको छ । ‘फार्म’मा अहिले एक हजार कुखुरा छन् । ४५ हजारबाट शुरु गरेको कुखुरापालन व्यवसायमा लगानी बढेर १२ लाख पुगेको छ । उनले अहिले आधुनिक खोर बनाएर कुखुरापालन गरिरहेका छन् । वर्षमा छ ‘लट’ कुखुरा तयार हुन्छन् । एकपटकमा झण्डै ६० देखि ७० हजारसम्म मुनाफा निस्कन्छ । बजार मूल्यमा आउने उतारचढावले कहिलेकाहीँ आम्दानी घटबढ हुन्छ । अहिले जिउँदो ‘ब्रोइलर’ कुखुरा प्रतिकिलो २३० मा बिक्री भइरहेको छ ।

 

रातामाटाकै युवा वैकुण्ठ सापकोटा एक वर्षदेखि कुखुरापालन व्यवसायमा रमाइरहेका छन् । उनको ‘सापकोटा कृषि फार्म’मा स्थानीय ‘साकिने’ जातका ८०० कुखुरा छन् । कुखुरापालनबाट उनले मासिक ५० हजार कमाउछन् । ‘कुखुरासँगै चल्ला र अण्डाको पनि उत्तिकै माग छ’, उनले भने, ‘उत्पादन गर्न सके बजारको कुनै समस्या छैन ।’ काठमाडौँ, हेटौँडा, कपिलवस्तु र पोखराका ‘ह्याचरी’ बाट अण्डाको माग आउने गरेको छ । घरायसी प्रयोगका लागि अण्डा माग गर्नेको सङ्ख्या पनि बढ्दो छ । ‘अहिले गाउँगाउँबाट पनि चल्लाको माग आइरहेको छ’, उहाँले भन्नुभयो, ‘स्थानीय जातका कुखुरापालननमा विस्तारै आकर्षण बढ्दैछ ।’ स्थानीय जातका कुखुराको मासु र अण्डा स्वादिष्ट तथा स्वस्थकर हुने हुँदा उपभोक्ताले रुचाएका हुन् । सदरमुकाम बागलुङ बजारमा होटल, रेष्टुराँमै मासुको रुपमा कुखुरा बढी खपत हुन्छ ।

 

अन्य जातको भन्दा स्थानीय जातको कुखुराको मूल्य झण्डै दोब्बर छ । ज्यूँदो कुखुरा प्रतिकिलो ७०० मा बिक्री हुने गरेको सापकोटाको भनाइ छ । अण्डा १५ र एक साताको चल्ला १२५ मा बिक्री हुँदै आएको छ । रातामाटाकै रमेश र दिनेश सापकोटा पनि कुखुरापालनमा व्यस्त छन् ।
सापकोटा दुई भाइ मिलेर एक हजार ‘ब्रोइलर’ कुखुरा पाल्दै आएका छन् । कुखुरापालन व्यवसाय फस्टाउँदै जान थालेपछि रोजगारी पनि सिर्जना हुन थालेको छ । मासिक ज्यालादारीमै भए पनि श्रमिकले काम पाएका छन् । रातामाटा र पाखाथर छुट्टाछुट्टै वडामा परे पनि एकापसमा जोडिएका गाउँ हुन् ।

 

दुवै गाउँका युवा मेहनत र लगावका साथ व्यावसायिक कुखुरापालनमा लागेपछि वरपरका धेरैले प्रशंसा गर्न थालेका छन् । सदरमुकामसँग जोडिएका कारण कुखुरालाई बजारको समस्या छैन । लगानी सुरक्षाको लागि सही मूल्य, बजार व्यवस्थापनसहित सरकारी निकायबाट अनुदान र प्राविधिक सहयोग पाउनुपर्ने युवा उद्यमीको माग छ ।

एमसिसी पारित गर्नुपर्छ : प्रम Read Previous

एमसिसी पारित गर्नुपर्छ : प्रम

भरतपुर विमानस्थलको विस्तार विषयमा सर्बपक्षीय छलफल, प्रचण्डले गरे योगेशको प्रशंसा Read Next

भरतपुर विमानस्थलको विस्तार विषयमा सर्बपक्षीय छलफल, प्रचण्डले गरे योगेशको प्रशंसा