काठमाडौं । आज समाजवादी मोर्चा र राजावादी समूहले काठमाडौं उपत्यकामा छुट्टाछुट्टै विरोध प्रदर्शन गर्दैछन् । मोर्चाले भ्रष्टाचार, बेथिति र प्रतिगमन विरुद्ध र राजावादीले संवैधानिक राजसंस्था पुनर्स्थापनाका मागसहित प्रदर्शन गर्न लागेका हुन् ।
समाजवादी मोर्चामा (माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपा) रहेका छन् । राजावादीहरु आज मेडिकल व्यवसायी दुर्गा प्रसाईंको ‘कमाण्डर’मा प्रदर्शनमा उत्रिँदै छ ।
दुवै पक्षले आजको एसईई परीक्षालाई मध्येनजर गर्दै दिउँसो १२ बजेदेखि प्रदर्शन सुरु गर्ने तयारी छन् । ।गणतन्त्रवादीहरुले काठमाडौंको प्रदर्शनीमार्गमा र राजावादीहरुले तीनकुनेमा प्रदर्शन गर्दै छन् ।
समाजवादी मोर्चाले चक्रपथ भित्रका विभिन्न ठाउँबाट जुलुस निकाल्ने छ । मोर्चाका अनुसार विभिन्न ८ वटा रुट हुँदै जुलुस भृकुटीमण्डपमा आउने छ । र, जनसभामा परिणत हुने मोर्चाले जनाएको छ । जनसभामा शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ ।
राजावादीहरुको सबैतिरबाट आएको जुलुस तीनकुनेमा मिसिने छ । राजावादीले भक्तपुरत, गोंगबु, सामाखुशी, जोरपाटी, बौद्ध, चाबहिल, कलंकी, बल्खु, सातदोबाटो लगायत ठाउँबाट जुलुस निकाल्ने जनाएका छन् ।
एकैपटक दुवै समूहले प्रदर्शन गर्ने भएकाले आज उपत्यकाको सवारी अस्तव्यस्त हुने निश्चित छ । दुवै समूहको जुलुस निस्कने रुटहरूमा सवारी आवगमन प्रभावित हुने देखिन्छ ।
प्रदर्शनलाई मध्येनजर गर्दै सरकारले उपत्यकामा २ हजार ५०० बढी प्रहरी परिचालन गरेको छ । आवश्यकता अनुसार थप प्रहरी परिचालन गर्ने योजना छ ।