काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा सडक दुर्घटनामा परेर १ हजार २३३ जनाको निधन भएको छ । लापराहीपूर्वक सवारीसाधन चलाएको तथा ट्राफिक नियमको पूर्ण परिपालनामा ध्यान नदिएका कारण दुर्घटनामा ज्यान जानेको सङ्ख्या गत आवको सोही अवधिको तुलनामा वृद्धि भएको हो ।
गृह मन्त्रालयका अनुसार विसं २०८० को पुस मसान्तसम्म देशभर १२ हजार ८५६ सडक दुर्घटनामा १ हजार १४९ जनाको ज्यान गएको थियो । यस वर्षको पुस मसान्तसम्म ११ हजार ३३८ सडक दुर्घटना हुँदा १ हजार २३३ जनाको ज्यान गएको छ ।
गत वर्षको ६ महिनाको तुलनामा यस वर्षको छ महिनामा सडक दुर्घटनाको सङ्ख्या घटे पनि मृत्यु हुनेको सङ्ख्यामा वृद्धि भएको छ । गत मङ्सिरको तुलनामा पुसमा सडक दुर्घटना बढे पनि मृत्यु हुनेको सङ्ख्या घटेको गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले जानकारी दिए ।
मन्त्रालयका अनुसार गत साउनमा १ हजार ६२८ सडक दुर्घटनामा १५२, भदौमा १ हजार ६१९ दुर्घटनामा १७४ जनाको अकालमा ज्यान गएको थियो । गत असोजमा १ हजार ८७३ सडक दुर्घटनामा २००, कात्तिकमा १ हजार ९२८ दुर्घटनामा परी २५८ जनाको निधन भएको विवरण छ । अघिल्लो गत मङ्सिरमा २ हजार १४ सडक दुर्घटनामा परी २५२ र पुसमा सबैभन्दा बढी २ हजार २७६ दुर्घटनामा परेर १९७ जनाको निधन भएको छ ।
मन्त्रालयले उपलब्ध गराएको विवरण अनुसार गण्डकी, काठमाडौँ उपत्यका र कर्णालीमा दुर्घटनाको सङ्ख्या घटे पनि मृत्यु हुनेको सङ्ख्यामा बढोत्तरी भएको छ । मधेस प्रदेश र बागमती (काठमाडौँ उपत्यका) बाहेकमा दुर्घटनाको सङ्ख्या बढे पनि मृत्यु हुनेको सङ्ख्या घटेको छ ।