नयाँदिल्ली । भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन भएको छ । ९२ वर्षीय सिंहको गए राति दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स)मा निधन भएको हो ।
उमेरसँग सम्बन्धित स्वास्थ्य समस्याका कारण उनको लामौ समयदेखि उपचार भइरहेको थियो र बिहीबार घरमा अचानक बेहोस भएका उनलाई तुरुन्तै घरमा सामान्य उपचारपछि राति ८ः०६ बजे नयाँ दिल्लीस्थित एम्समा मेडिकल इमर्जेन्सीमा लगिएको थियो ।
‘सबै प्रयासका बावजुद उहाँलाई बचाउन सकिएन र राति ९ः५१ बजे उहाँलाई मृत घोषित गरियो,’ एम्सले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
सिंहले ३३ वर्ष सेवा गरेपछि यसै वर्षको सुरुमा अवकाश विश्राम लिएका थिए । सन् १९३२ मा पञ्जाबमा जन्मिएका मनोमोहन सिंहले सन् २००४ देखि २०१४ सम्म दुई कार्यकाल भारतको प्रधानमन्त्रीको रूपमा काम गरेका थिए ।
सन् २००४ को लोकसभा चुनावमा अटल बिहारी बाजपेयी नेतृत्वको एनडीएविरुद्ध कंग्रेसले विजय हासिल गरेपछि उनले पहिलो पटक सन् २००४ मा प्रधानमन्त्री पदको शपथ लिएका थिए ।
उनले सन् २००९ देखि २०१४ सम्म दोस्रो कार्यकाल सम्हालेका थिए । उनले सन् २०१४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जिम्मेवारी सुम्पिएका थिए ।