काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११, थानार्भयाङमा पेट्रोल बोक्ने ट्यांकरको टायर पड्किँदा एक जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।
गएराति करिब १ बजे मधेश प्रदेश ०३-००२ ख ०३०० नम्बरको पेट्रोल बोकेको ट्यांकरको टायरमा हावा भर्ने क्रममा पड्किर दुर्घटना भएको हो ।
उक्त दुर्घटनामा हेटौंडा टायर मर्मत पसल सञ्चालक भारतीय नागरिक ३४ वर्षीय मोहम्मद ऐजाजको मृत्यु भएको हो । गम्भीर घाइते भएका उनको उपचारको क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।
सो घटनामा परी पर्साको धोबिनी गाउँपालिकाका १८ वर्षीय जाबिर हवारी, हेटौंडा–११ का ३९ वर्षीय देवान लामा, हेटौंडा–११ कै ४७ वर्षीय मोहनलाल दुलाल, धादिङको धुनिबेशी नगरपालिका–२ का २३ वर्षीय उत्तम बस्नेत र धादिङको थाक्रे गाउँपालिका–८ का लक्ष्मण थापा घाइते भएको मकवानपुर प्रहरीले जनाएको छ ।