काठमाडौं । साहस ऊर्जा लिमिटेडको खुद नाफामा उल्लेख्य सुधार आएको छ । कम्पनीले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रोे त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा ८०.३७ प्रतिशतले बढेको छ ।
चालु वर्षको चैत मसान्तसम्म कम्पनीले ४७ करोड ८१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा २१ करोड ३० लाख रुपैयाँ धेरै हो । कम्पनीले गत वर्षको चैतसम्म २६ करोड ५१ लाख रुपैयाँ नाफा कमाएको थियो ।
विद्युत् बिक्री हुने आम्दानी साढे ९ गुणाले बढेपछि कम्पनीको नाफामा उछाल आएको हो ।
समीक्षा अवधिमा कम्पनीको विद्युत् बिक्री आम्दानी ८२८.९९ प्रतिशत अर्थात् २१ करोड ८० लाख रुपैयाँबाट बढेर २ अर्ब २ करोड रुपैयाँ पुगेको छ ।
त्यस्तै, कम्पनीको कुल आम्दानी ४३ करोड ८ लाख रुपैयाँबाट बढेर १ अर्ब ४८ करोड रुपैयाँ पुगेको छ ।
यस अवधिमा कम्पनीको वित्तीय खर्च १४ करोड ७१ लाख रुपैयाँबाट बढेर ९१ करोड ६८ लाख रुपैयाँ पुगेको छ ।
हाल ३ अर्ब ५० करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको रिजर्भ कोषमा २ अर्ब ६२ करोड रुपैयाँ संचिति छ ।
समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १८.२२ रुपैयाँ, प्रतिसेयर नेटवर्थ पनि १७५.११ रुपैयाँ र मूल्य आम्दानी अनुपात २८.४९ गुणा रहेको छ ।
कम्पनीले निजी क्षेत्रकै हालसम्मको सबैभन्दा ठूलो ८६ मेगावाटको सोलुखोला दूधकोशी जलविद्युत् आयोजना निर्माण सम्पन्न गरी २०७९ फागुन १७ गतेदेखि व्यवसायिक उत्पादन सुरु गरिसकेको छ ।