काठमाडौं । चालु आर्थिक वर्षमा वाणिज्य बैंकहरूको व्यवसाय सुस्त देखिएको छ । निक्षेप संकलन बढे पनि कर्जा लगानी भने अपेक्षित रुपमा बढ्न सकेको छैन । अर्थतन्त्रमा आएको संकुचनका कारण कर्जाको माग नहुँदा बैंकहरूले लगानी विस्तार गर्न सकेका छैनन् । जस कारण पैसा प्रणालीमै थुप्रिएर बसेको छ ।
आर्थिक मन्दीका कारण विगतमा गरिएको कर्जा असुल्न नसकेका बैंकहरूको नयाँ व्यवसाय विस्तार पनि सुस्त छ । यद्यपि, बढ्दो खराब कर्जाका कारण बैंकहरू जोखिम मोलेर ऋण लगानी गर्न तयार छैनन् ।
चालु आर्थिक वर्षको ६ महिना (साउन–पुस)मा वाणिज्य बैंकहरूको निक्षेप झन्डै ७ प्रतिशतले बढेको छ । गत असार मसान्तसम्म कुल ५० खर्ब ४ अर्ब रहेको बैंकहरूको निक्षेप ६ महिनामा ६.९७ प्रतिशतले बढेर पुससम्म ५३ खर्ब ५४ अर्ब रुपैयाँ पुगेको छ । यस अवधिमा २० वटा वाणिज्य बैंकहरूले ३ अर्ब ४९ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् ।
जबकि यही अवधिमा बैंकहरूले उठाएको निक्षेपको आधाभन्दा कम रकम मात्रै लगानी गर्न सकेका छन् । अर्थात् बैंकहरूले ६ महिनाको अवधिमा साढे ३ खर्ब निक्षेप उठाउँदा जम्मा १ खर्ब ६९ अर्ब रुपैयाँ मात्र कर्जा लगानी गरेका छन् ।
गत असार मसान्तसम्म ४१ खर्ब २३ अर्ब रुपैयाँ रहेको बैंकहरूको कुल कर्जा लगानी पुससम्म आइपुग्दा ४.०९ प्रतिशतले बढेर ४२ खर्ब ९१ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ ।
६ महिनाको लगानीको अवस्था हेर्दा चालु वर्षमा कर्जा विस्तारको लक्ष्य नभेटिने देखिन्छ । नेपाल राष्ट्र बैंकले चालु वर्षमा निजी क्षेत्रतर्फ ११.५ प्रतिशतको कर्जा विस्तार गर्ने लक्ष्य राखेको छ । सो अनुसार बैंक तथा वित्तीय संस्थाले ५ खर्ब ६० अर्ब रुपैयाँ कर्जा लगानी गर्नुपर्छ ।
तर, ६ महिनामा बैंक तथा वित्तीय संस्थाले समग्रमा करिब १ खर्ब ८० अर्ब रुपैयाँ कर्जा लगानी गरेको देखिन्छ । यो लक्ष्यको करिब एकतिहाई मात्रै हो । आर्थिक शिथिलता कायमै रहेकाले तत्कालै कर्जाको माग बढ्ने देखिँदैन भने बढ्दो खराक कर्जाका कारण माग आइ हाले पनि बैंकहरू जोखिम मोलेर जुनसुकै क्षेत्रमा कर्जा लगानी गर्न तयार छैनन् । यसकारण चालु वर्षको कर्जा विस्तारको लक्ष्य पूरा नहुने देखिन्छ ।
६ बैंकले मात्रै गरे ७० प्रतिशत ऋण लगानी
चालु वर्षमा ६ वटा बैंकले मात्रै कुल कर्जा लगानीको दुईतिहाई बढी लगानी गरेका छन् । ६ महिनामा कुल १ खर्ब ७९ अर्ब रुपैयाँ कर्जा लगानी भएकोमा ६ बैंकले मात्रै १ खर्ब १७ अर्ब ऋण लगानी गरेका छन् । बाँकी १४ बैंकले ५१ अर्ब ऋण लगानी गरेका छन् ।
समीक्षा अवधिमा एनआइसी एसिया र नबिल बैंक कर्जा लगानीमा आक्रमक देखिएका छन् । यस अवधिमा एनआइसीले सबैभन्दा धेरै ३१ अर्ब ७१ करोड रुपैयाँ ऋण लगानी गरेको छ भने नबिलले ३० अर्ब १८ करोड लगानी गरेको छ।
त्यस्तै, प्राइम कमर्शियल बैंकले तेस्रो धेरै कर्जा विस्तार गरेको छ । पुससम्म प्राइमले १६ अर्ब २५ करोड रुपैयाँ ऋण लगानी गरेको छ ।
त्यसैगरी, ६ महिनाको अवधिमा कृषि विकासले १५ अर्ब ६६ करोड, राष्ट्रिय वाणिज्य बैंकले १४ अर्ब ४ करोड, नेपाल इन्भेष्टमेन्ट मेगाले ८ अर्ब ९५ करोड, ग्लोबल आइएमईले ८ अर्ब ३६ करोड र एभरेष्ट बैंकले ८ अर्ब २७ करोड ऋण लगानी गरेका छन् ।
यस अवधिमा सिटिजन्सले ७ अर्ब ९० करोड, सिद्धार्थ ६ अर्ब ८७ करोड, हिमालयन ६ अर्ब २८ करोड, सानिमा ६ अर्ब १७ करोड, नेपाल एसबीआई ५ अर्ब १५ करोड, कुमारी र एनएमबी समान ४ अर्ब ८७ करोड, माछापुच्छ्रे ३ अर्ब ४४ करोड र नेपाल बैंकले २ अर्ब ६७ करोड कर्जा लगानी गरेका छन् ।
समीक्षा अवधिमा ३ बैंकको भने व्यवसाय विस्तार हुनुको सट्टा झन् घटेको छ । गत असारको तुलनामा स्ट्याण्डर्ड चार्टर्ड। लक्ष्मी सनराइज र प्रभुको कर्जा लगानी घटेको छ । जसमा चार्टर्डको २१ करोड, लक्ष्मी सनराइन ६ अर्ब १ करोड र प्रभुको सबैभन्दा धेरै ६ अर्ब ८६ करोडले घटेको छ ।
निक्षेप संकलनमा पनि एनआइसी नै अगाडि
चालु वर्षको ६ महिनामा कर्जा विस्तारमा पनि एनआइसी एशिया बैंक अरु बैंकभन्दा निकै अघि रहेको छ । पुससम्म एनआइसीले मात्रै ६९ अर्ब ८९ करोड निक्षेप संकलन गरेको छ । जुन चालु वर्षमा थपिएको कुल निक्षेपको २० प्रतिशत हो ।
यस्तै, निक्षेप संकलनमा नबिल बैंक पनि आक्रमक देखिएको छ । ६ महिनामा नबिलले ३१ अर्ब ९९ करोड रुपैयाँ निक्षेप थपेका छ । त्यसैगरी, प्राइम कमर्शियलले ३२ अर्ब २० करोड, कृषि विकासले २९ अर्ब ८८ करोड, इन्भेष्टमेन्ट मेगाले ३४ अर्ब ६२ करोड, ग्लोबल आइएमईले २७ अर्ब ९२ करोड, हिमालयनले २२ अर्ब ७२ करोड, एनएम्बीले २१ अर्ब २ करोड निक्षेप संकलन गरेका छन् ।
समीक्षा अवधिमा ४ बैंकको भने निक्षेप घटेको छ । सिद्धार्थ, माछापुच्छ्रे, स्ट्याण्डर्ड चार्टर्ड र प्रभु बैंकको निक्षेप घटेको छ । जसमा प्रभु बैंकको सबैभन्दा धेरै ८ अर्ब ६ करोड रुपैयाँ निक्षेप घटेको छ । त्यस्तै, सिद्धार्थको २ अर्ब ५७ करोड, माछापुच्छ्रेको १ अर्ब ७० करोड र चार्टर्डको १ अर्ब ८० करोड निक्षेप घटेको छ ।