 
			काठमाडौं । नेपाल धितोपत्र बोर्डले चालु आर्थिक वर्ष २०८०/८१ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।
बोर्डले आइतबार चालु वर्षका लागि ७४ बुँदे नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । बोर्डले चालु आवमा विकासात्मकतर्फ ३० वटा र नियमित तर्फ ४४ वटा कार्यक्रम राखेको छ ।
बोर्डले चालु आर्थिक वर्षभित्र वस्तु विनिमय बजार (कमोडिटी मार्केट) संचालनमा ल्याउने जनाएको छ । यसैगरी, गैर आवासीय नेपालीलाई पूँजी बजारमा सहज प्रवेशको लागि आवश्यक कानुनी कानुन संशोधन गर्ने र संस्थागत पूर्वाधार निर्माण गर्ने लक्ष्य राखेको छ।
यस्तै, नेपाल स्टक एक्सचेन्ज (नेप्से) तथा ब्रोकरहरूले लिने शूल्कको विषयमा अध्ययन गर्ने भएको छ। बोर्डले धितोपत्र बजारमा मध्यस्थलता लागत कम गरी पूँजीमा पहुँच तथा कारोबारमा वृद्धी गर्न धितोपत्र बजार तथा व्यवसायीहरुले लिने शूल्कका सम्बन्धमा अध्ययन गर्ने जनाएको हो ।
यसैगरी, बोर्डले नविनतम उद्यम व्यवसायको प्रर्वद्धन गर्न आवश्यक पूँजी परिचालनको लागि प्राइभेट इक्विटी, भेन्चर क्यापिटल जस्ता अर्थप्रणालीको निर्माण गर्ने विशेष नीति लिएको छ।
यस्तै, बोर्डले हरित ऋणपत्र लगायतका वित्तीय उपकरण जारी गर्न सक्ने गरी नीतिगत व्यवस्था गर्ने समेत गरेको छ।
 
                   
             
               
               
				 
				 
               
               
               
                                                             
                                                             
                                                             
                                                             
                                                 
                                                 
                                                 
                                                