 
			काठमाडौं । नेपाल धितोपत्र बोर्डले धितोपत्र दलाल तथा धितोपत्र व्यापारीको अनुमतिपत्र (ब्रोकर लाइसेन्स)को लागि आवेदन आह्वान गरेको म्याद सकिन ५ दिन बाँकी रहँदा एक कम्पनीले मात्र आवेदन दिएको छ ।
बोर्डले आवेदन माग गरेको २५ दिनमा हिमालयन सेक्युरीटीजले लाइसेन्सका लागि आवेदन दिएको हो । यस कम्पनीले सीमित कार्य गर्नका लागि आवेदन दिएको बोर्डले जनाएको छ । बोर्डले संशोधित धितोपत्र दलाल नियमावली अनुसार ३० दिनभित्र ब्रोकर लाइसेन्सका लागि आवेदन दिन माग गरेको थियो ।
नेपाल धितोपत्र बोर्डका प्रवक्ता रुपेश केसीले हालसम्म एक कम्पनीले मात्र लाइसेन्सका लागि आवेदन दिएको बताए । ‘अहिलेसम्म एक कम्पनीले मात्र आवेदन दिएको छ । त्यसमा पनि नेप्सेको सिफारिस सहित होइन्,’ उनले भने, ‘बोर्डले अध्ययन गरेपछि कागजपत्र सबै पुगेको छ भने लाइसेन्सको प्रक्रिया अघि बढ्छ नभए बढ्दैन् ।’
नियमावली अनुसार ब्रोकर लाइसेन्सका लागि नेपाल स्टक एक्सचेन्ज(नेप्से)को सिफारिस पनि आवश्यक पर्छ । आवेदन दिएको उक्त कम्पनीले पनि नेप्सेको सिफारिस पेस गरेको भने छैन ।
लाइसेन्स लिन नेप्सेको सिफारिस पनि आवश्यक पर्ने नियमावलीको अनुसूचीमै उल्लेख भएको उनले बताए । नियमावलीको व्यवस्था पूरा गरेका सबै कम्पनीहरूले अनुमति प्राप्त गर्ने उनको भनाइ छ ।
नियमावली संशोधन भएर आएपछि बजारको अवस्था हेरेर बोर्डले तीन/तीन वर्षमा आवेदन माग गर्ने उनले बताए । बोर्डले केही समयअघि धितोपत्र व्यवसायी धितोपत्र दलाल तथा धितोपत्र व्यापारी नियमावली पाँचौपटक संशोधन गरेर नयाँ ब्रोकर कम्पनीको लाइसेन्स वितरण गर्ने बाटो खुला गरेको थियो ।
जस अनुसार तीन प्रकारका ब्रोकर कम्पनीहरू स्थापना गर्न सकिने भएको छ । बोर्डले उक्त नियमावली अनुसार सिमित कार्य गर्ने ब्रोकर कम्पनीको चुक्ता पूँजी २० करोड रुपैयाँ, पूर्ण कार्य गर्ने कम्पनीका लागि ६० करोड रुपैयाँ र स्टक डिलरका लागि डेढ अर्ब रुपैयाँ तोकेको छ ।
बोर्डले संशोधित नियमावली कार्यान्वयनमा ल्याएसँगै ब्रोकर लाइसेन्सका लागि पहिलोवर्ष आवेदन माग गरेको तीन वर्षको अवधिसम्म लाइसेन्सको अनुमति नदिने व्यवस्था गरेको छ ।
धितोपत्र बजारको विकास र विस्तार गरेर सेवा तथा गुणस्तरमा स्वच्छ, निष्पक्ष, पारदर्र्शी, प्रतिस्पर्धी बनाउन ब्रोकर कम्पनीको अवश्यक रहेको बोर्डको भनाइ छ ।बोर्डका अध्यक्ष रमेश कुमार हमालले पूँजी बजारको विकास र लगानीकर्ताको सहजताको लागि योग्यता पुग्ने जसले पनि ब्रोकर लाइसेन्स पाउनुपर्ने बताउँदै आएका थिए । सोही अनुसार उनले नियमावली संशोधन गरेर फरकफरक ब्रोकर कम्पनी सञ्चालनको अनुमति दिन सकिने व्यवस्था गरेका छन् ।
हाल नेपालमा ५० वटा ब्रोकर कम्पनीहरूले अनलाइन तथा विभिन्न शाखा मार्फत लगानीकर्ताहरूलाई सेवा दिइरहेका छन् । बजारमा सिमित कम्पनीहरूको मात्र एकाधिकार रहको भन्दै ठूला लगानीकर्ताहरूले अन्य ब्रोकर कम्पनीले पनि सञ्चालन तथा कारोबारको अनुमति पाउनुपर्ने माग राख्दै आएका छन् ।
तर, बोर्डले अनुमतिका लागि गरेको आह्वानमा भने ठूला कम्पनीहरूको आकर्षण देखिएको छैन् । कतिपय वाणिज्य बैंकहरूले समेत आफ्नो सहायक कम्पनी मार्फत आवेदन दिने तयारी गरेका छन् ।
 
                   
             
               
               
				 
				 
               
               
               
                                                             
                                                             
                                                             
                                                             
                                                 
                                                 
                                                 
                                                