पोखरा विमानस्थलमा पहिलोपटक नियमित अन्तर्राष्ट्रिय उडान, पोखरा-ल्हासा उडान सुरू

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु भएको छ । सोमबारदेखि हिमालय एयरलाइन्सले ल्हासा-पोखरा-ल्हासा नियमित उडान सुरु गरेको हो ।

पोखरा विमानस्थल कार्यालयका अनुसार सोमबार ल्हासाबाट १०७ यात्रु लिएर आएको हिमालयकको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

यससँगै हिमालय पोखरामा नियमित अन्तर्राष्ट्रिय उडान थाल्ने पहिलो वायुसेवा कम्पनी समेत बनेको छ । ल्हासाबाट आएको जहाज र यात्रुलाई गण्डकीका मुख्यमन्त्री सुरेन्द्र पाण्डे र नेपालका लागि चिनियाँ राजदूत छेन सङले स्वागत गरेका थिए ।

आज आएको जहाज अब भोलि पोखराबाटै ल्हासा उड्ने विमानस्थल कार्यालयले जनाएको छ । पोखरालाई ल्हासासँग जोड्न हिमालयले अब पोखरा-ल्हासा रुटमा नियमित साताको एक उडान गर्नेछ । यात्रु संख्या बढेसँगै यसलाई विस्तार गरिने एयरलाइन्सले जनाएको छ ।

संचालनमा आएको २ वर्ष बिते पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान हुन थिएन । यसअघि चार्टर उडान मात्रै हुँदै आएका थिए । हाल सिचुवान एयरलाइन्सले नियमित चार्टर्ड उडान गरिरहेको छ ।

राष्ट्रिय गौरवको आयोजना पोखरा अन्तर्राष्ट्रिय विमानस्थल वि.सं. २०७९ पुस १७ गते उद्घाटन भएको थियो। हालसम्म विभिन्न एयरलाइन्सका ११ चार्टर्ड उडान भएका छन् ।

सहकारी सम्बन्धी विधेयक राष्ट्रिय सभाबाट बहुमतले पारित Read Previous

सहकारी सम्बन्धी विधेयक राष्ट्रिय सभाबाट बहुमतले पारित

मदन भण्डारी राजमार्गका १४ हजार रूख काटिँदै Read Next

मदन भण्डारी राजमार्गका १४ हजार रूख काटिँदै