माछापुच्छ्रे क्यापिटलले पायो बिक्री प्रबन्धक र सेयर रजिष्ट्रेशनको अनुमति

काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेडले निष्काशन तथा बिक्री प्रबन्धक र सेयर रजिष्ट्रेशनको अनुमति प्राएको छ । नेपाल धितोपत्र बोर्डले क्यापिटललाई चैत ११ गते सेयर बिक्री प्रबन्धक र सेयर रजिष्ट्रेशनको काम गर्न अनुमति दिएको हो ।

यससँगै अब माछापुच्छ्रे क्यापिटलले प्राथमिक सार्वजनिक निष्काश (आइपीओ), हकप्रद सेयर, ऋणपत्र तथा अन्य धितोपत्रहरूको निष्काशन, बिक्री तथा वितरण प्रक्रिया व्यवस्थापन गर्न सक्नेछ ।

साथै कम्पनीले सेयर रजिष्ट्रारको रूपमा सेयरधनीहरूको विवरण व्यवस्थापन, लाभांश वितरण, स्वामित्व हस्तान्तरण लगायतका थप सेवा प्रदान गर्न सक्नेछ ।

माछापुच्छ्रे क्यापिटल माछापुच्छ्रे बैंक लिमिटेडको सहायक कम्पनी हो । पब्लिक लिमिटेड कम्पनीको रूपमा स्थापित धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) कम्पनी, माछापुच्छ्रे क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्ड मार्फत धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन, संस्थागत परामर्श सेवा, निक्षेप सदस्य तथा सामूहिक लगानी कोषको इजाजत प्राप्त गरि सेवा प्रदान गरिरहेको छ र हालसालै क्यापिटलले सामूहिक लगानी कोष अन्तर्गत आफ्नो पहिलो बन्दमुखी योजना ‘एमबीएल इक्विटी फण्ड’ पनि सार्वजनिक निष्काशन गरि सम्पूर्ण इकाइहरू पूर्ण बिक्री गर्न सफल भएको थियो ।

थप इजाजतहरू प्राप्त भए सँगै अब कम्पनीसँग मर्चेन्ट बैंकले उपलब्ध गराउने सम्पूर्ण सेवा सुविधा उपलब्ध रहेको छ । कम्पनीले अझ सशक्त रूपमा सर्वसाधारण, संस्थागत लगानीकर्ता, तथा अन्य स्टेकहोल्डरहरूलाई भरपर्दो र पारदर्शी सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

बन्द भएको ६ महिनापछि हेटौंडा सिमेन्ट उद्योगबाट पुनःउत्पादनकाे तयारी Read Previous

बन्द भएको ६ महिनापछि हेटौंडा सिमेन्ट उद्योगबाट पुनःउत्पादनकाे तयारी

दैनिक २०० लिटर दूध बेच्ने किसानलाई डेढ लाख पुरस्कार Read Next

दैनिक २०० लिटर दूध बेच्ने किसानलाई डेढ लाख पुरस्कार