दुइटा बाहेक अरू सबै बैंकको बेसरेट ७% तल झर्यो, यी बैंकले दिन्छन् सस्तोमा ऋण

काठमाडौं । हाल संचालनमा रहेका २० वाणिज्य बैंक मध्ये १८ वटाको आधारदर (बेसरेट) ७ प्रतिशत तल झरेको छ । फागुन मसान्तसम्म प्राइम कमर्शियल र एनआइसी एसिया बाहेक अरू सबैको बेसरेट ७ प्रतिशतभन्दा तल झरेको हो ।

बैंकहरूले २०८० कात्तिक यता लगातार महिनैपिच्छे निक्षेपको ब्याजदर घटाउँदा लागत घट्न गई बेसरेट पनि सस्तिएको हो । बेसरेट घट्दै गएसँगै कर्जाको ब्याजदर पनि निकै सस्तिएको छ ।

वाणिज्य बैंकहरूले चैतका लागि सार्वजनिक गरेको बेसरेट अनुसार औसत बेसरेट ६.४७ प्रतिशतमा झरेको छ । यो ३ वर्ष यताकै सस्तो हो । पछिल्लो १ वर्षमा मात्रै बैंकहरूको बेसरेट २ प्रतिशत बिन्दुले घटेको छ ।

बैंकिङ प्रणलीमा तरलता अभाव हुँदै गएपछि बैंकहरूले निक्षेपको ब्याज बढाउँदा २०७८ असारदेखि बेसरेट महँगिँदै गएको थियो । सो बेला औसतमा ६.८९ प्रतिशत रहेको बेसरेट २०७९ पुसमा बढेर १०.७८ प्रतिशतसम्म पुगेको थियो । त्यसपछि घट्न थालेको बेसरेट अहिले साढे ६ प्रतिशतमा झरेको हो ।

आर्थिक शिथिलताका कारण कर्जाको माग नबढेपछि बैंकहरूले १८ महिना यता लगातार निक्षेपको ब्याज घटाउँदा ब्याज खर्च कटौती हुन गई बेसरेट सस्तिएको हो । पछिल्लो १ वर्षको अवधिमै बैंकहरूले निक्षेपको ब्याजदर साढे ४ प्रतिशतसम्म घटाएका छन् भने औसतमै ३ प्रतिशतले घटेको छ । जसको सकारात्मक प्रभाव बेसरेटमा देखिएको हो ।

बैंकिङ प्रणालीमा तरलता (लगानी योग्य रकम) थुप्रिएपछि बैंकहरूले लागत घटाउन निक्षेपको ब्याजदर घटाउँदै आएका छन् । विगतमा तरलता अभावका कारण बैंकहरूले निक्षेपको ब्याजदर नै १२ प्रतिशतसम्म पुर्याएका थिए । जसकारण बैंकहरूको औसत बेसरेट नै दोहोरो अंकका पुगेको थियो ।

नेपाल राष्ट्र बैंकले नीतिगत दरहरू घटाउँदा पनि बैंकहरूलाई ब्याजदर घटाउन सहयोग पुगेको छ । राष्ट्र बैंकले चालु आवको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा मार्फत राष्ट्र बैंकले बैंकदर ७ प्रतिशतबाट ६.५ प्रतिशत, नीतिगत दर ५.५ प्रतिशतबाट ५ प्रतिशत र निक्षेप संकलन बोलकबोलदर ३ प्रतिशतमा झारेको थियो ।

२० बैंकमध्ये अहिले १८ वटाले चाहेमा ७ प्रतिशत हाराहारीमै कर्जा दिन सक्छन् । बैंकहरूले चाहेमा १ प्रतिशतभन्दा कम प्रिमियममा पनि ऋण दिन सक्छन् । र, अहिले केही बैंकले ०.२५ प्रतिशत प्रिमियममा मात्रै पनि ऋण दिन थालेका छन् । नयाँ ऋणको माग नभए पनि अहिले बैंकहरू बीच एक अर्काको पुरानो कर्जा खोस्ने अस्वस्थ्य प्रतिस्पर्धा चल्न थालेकाले अति न्यून प्रिमियममा ऋण दिन थालेका छन् । यसले केही बैंकलाई घाटा पुगे पनि ग्राहकलाई भने फाइदा पुगेको छ । विगतमा १८ प्रतिशतसम्म पुगेको कर्जाको ब्याजदर अहिले अधिकतम ११/१२ प्रतिशतमा झरेको छ ।

कुन बैंकबाट पाइन्छ सस्तोमा ऋण ?

बैंकहरूले आफ्नो लागत अनुसार आधारदर तय गर्छन् । आधारदरमा आएको फेरबदल अनुसार कर्जाको ब्याजदर पनि फरक पर्छ । कुन बैंकबाट सस्तोमा ऋण पाइन्छ भन्ने कुरा बैंकहरूको बेसरेटमा भर पर्दछ । तुलनात्मक रूपमा कम बेसरेट भएका बैंकहरूले सस्तोमा ऋण दिन सक्छन् भने बेसरेट धेरै भएका बैंकको ब्याजदर महँगो हुन्छ ।

ऋणको प्रकृति अनुसार बैंकहरूले प्रिमियम दर कम र धेरै जोड्ने गरेका छन् । त्यसैले कर्जाको ब्याजदर ब्याजदर सस्तो र महँगो तय गर्छ । अहिले वाणिज्य बैंकहरूले आधारदरमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम जोडेर ऋण दिँदै आएका छन् भने न्यूनतम ०.५ प्रतिशत प्रिमियममै ऋण दिन्छन् ।

हाल विदेशी स्वामित्वको स्ट्याण्डर्ड चार्टर्ड बैंकले सबैभन्दा सस्तोमा ऋण दिन सक्छ । यस बैंकको बेसरेट ५.०३ प्रतिशत छ । यो हाल संचालनमा रहेका २० वाणिज्य बैंकमध्ये सबैभन्दा सस्तो हो । चार्टर्डले बेसरेटमा न्यूनतम १ प्रतिशत प्रिमियम जोडेर पनि ६ प्रतिशतमै ऋण दिन सक्छ । बैंकले बेसरेटमा ५ प्रतिशत प्रिमियम जोडेर पनि अधिकतम् १० प्रतिशतमै ऋण दिन सक्छ ।

त्यसैगरी, सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य, नेपाल र निजी क्षेत्रको एभरेष्ट बैंकको पनि बेसरेट ६ प्रतिशतभन्दा कम छ । राष्ट्रिय वाणिज्यको ५.२८ प्रतिशत, एभरेष्टको ५.४६ प्रतिशत र नेपाल बैंकको ५.९६ प्रतिशत छ । यी बैंकले पनि चाहेमा न्यूनतम् साढे ६ प्रतिशत ब्याजदरमै ऋण दिन सक्छन् ।

त्यस्तै, नबिल, नेपाल इन्भेष्टमेन्ट मेगा र कृषि विकास बैंकको बेसरेट साढे ६ प्रतिशतभन्दा कम छ । यी बैंकले पनि चाहेमा न्यूनतम ७ प्रतिशत ब्याजदरमै ऋण दिन सक्छन् ।

त्यसैगरी, एनएमबी, ग्लोबल आइएमई, सानिमा, हिमालयन, सिद्धार्थ, माछापुच्छ्रे, नेपाल एसबीआई, सिटिजन्स, प्रभु, कुमारी र लक्ष्मी सनराइजको बेसरेट ६.५ देखि ७ प्रतिशतभन्दा कम छ । यी बैंकले पनि चाहेमा न्यूनतम साढे ७ प्रतिशत ब्याजदरमै ऋण दिन सक्छन् ।

२० बैंक मध्ये प्राइम कमर्शियल र एनआइसी एशियाको मात्रै बेसरेट ७ प्रतिशत माथि छ । तुलनात्मक रुपमा यी बैंकबाट ऋण लिँदा केही महँगो पर्छ । विगतमा महँगो निक्षेप उठाएका कारण यी बैंकको बेसरेट घट्न नसकेको हो ।

जलविद्युत् आयोजनाको 'मकिङ' खोलामा फाल्दा बाढीको जोखिम Read Previous

जलविद्युत् आयोजनाको 'मकिङ' खोलामा फाल्दा बाढीको जोखिम

ओम मेगाश्री फर्मास्युटिकल्सको आइपीओ बाँडफाँट, यहाँबाट सजिलै हेर्नुहोस् नतिजा Read Next

ओम मेगाश्री फर्मास्युटिकल्सको आइपीओ बाँडफाँट, यहाँबाट सजिलै हेर्नुहोस् नतिजा