एनआरएनलाई सेयर बजारमा लगानी गर्ने बाटो खुल्यो, यस्ता छन् नयाँ व्यवस्था

काठमाडौँ । सेयर बजारमा गैरआवासीय नेपाली (एनआरएन)लाई लगानी गर्ने बाटो खुला भएको छ । नेपाल धितोपत्र बोर्डले धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका  (आठौँ संशोधन) २०८१ जारी गर्दै  यस्तो व्यवस्था गरेको हो ।

यससँगै अब गैर आवासीय नेपालीले धितोपत्र बजारमा लगानी गर्न पाउने छन् । बोर्डले शुक्रबार जारी गरेको निर्देशिका अनुसार गैर आवासीय नेपालीले संयुक्त लगानी (ज्वाइन्ट भेन्चर)को इन्भेस्टमेन्ट कम्पनी स्थापना सेयर बजारमा लगानी गर्न सक्नेछन् ।

निर्देशिका अनुसार संयुक्त लगानीको इन्भेष्टमेन्ट कम्पनी भन्नाले नेपाल सरकार र गैरआवासीय नेपालीको संयुक्त लगानीको इन्भेष्टमेन्ट कम्पनी हुनेछन् । यस्ता कम्पनीले सेयर जारी गर्न चाहेमा ऐन, नियमावली तथा यस परिच्छेद बमोजिमको प्रक्रिया पूरा गरी सेयर निष्कासन गर्न सक्ने व्यवस्था गरिएको छ ।

यसरी स्थापना हुने कम्पनीमा गैर आवासीय लगानीकर्ताले कम्तीमा १० देखि बढीमा ४९ प्रतिशतसम्म गैर आवासीय नेपालीका लागि सेयर (आइपीओ) निष्कासन गर्न सक्ने छन् ।

गैरआवासीय नेपाली सहितको इन्भेस्टमेन्ट कम्पनीको सेयर निष्कासन गर्नुअघि सेयर बोर्डमा दर्ता गर्नुपर्ने व्यवस्था गरिएको छ । बोर्डको स्वीकृतिपछि कम्तीमा ४ दिनदेखि बढीमा १५ दिनसम्म गैर आवासीय नेपालीका लागि आइपीओ खुलाउन सकिने छ ।

आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाले गैरआवासीय नेपालीका लागि विद्युतीय माध्यमबाट सेयर आवेदन दिने व्यवस्था गर्न सक्नेछ । आवेदकले आवेदन साथ सम्बन्धित विदेशी मुलुकको नागरिकता वा राहदानी वा त्यस्तो विदेशी मुलुकको स्थायी आवासीय अनुमतिपत्र र गैरआवासीय नेपाली नागरिकता वा गैरआवासीय नेपाली परिचयपत्र पेस गर्नुपर्नेछ ।

गैरआवासीय नेपालीको लागि हितग्राही (डिम्याट) खाता खोल्दा निक्षेप सदस्यले विद्युतीय माध्यमबाट समेत ग्राहक पहिचान विवरण रुजु गरी हितग्राही खाता खोल्न सक्नेछ।

संयुक्त लगानीको इन्भेष्टमेन्ट कम्पनीको सेयरको कारोबार गैरआवासीय नेपालीबीच मात्र हुनेछ । सेयर कारोबार गर्दा कारोबार इकाई न्यूनतम १ हजार कित्ता हुनेछ । सेयरधनीको हकप्रद सेयरको हक हस्तान्तरण गर्नुपर्ने भएमा गैरआवासीय नेपालीबिच मात्र हक हस्तान्तरण गर्नु पर्नेछ । यस्ता कम्पनीले निष्कासन गरेको सेयर बाडँफाँट भएको मितिले १ वर्षको अवधि पूरा नभई खरिद बिक्री गर्न पाइने छैन ।

बजारमा बढ्नै सकेन उपभोग्य वस्तुको माग, कात्तिकमा १ वर्ष यताकै कम आयात Read Previous

बजारमा बढ्नै सकेन उपभोग्य वस्तुको माग, कात्तिकमा १ वर्ष यताकै कम आयात

चीनद्वारा २९ देशका लागि एकपक्षीय भिसा मुक्त नीति लागू Read Next

चीनद्वारा २९ देशका लागि एकपक्षीय भिसा मुक्त नीति लागू